३१ असार २०८३, बुधबार

कोटीहोम विवाद : पोखरा महानगरले वार्ता गर्न खटायो एमाले र कांग्रेस संसदीय दलका नेता

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २७ फागुन । पोखराको लेकसाइडस्थित बाराहीघाटमा संचालन गर्ने भनिएको कोटीहोमको बिबाद सम्बन्धमा वार्ता गर्न पोखरा महानगरपालिकाले सशर्त दुई जना सदस्य खटाएको छ ।

पोखरा महानगरपालिकाको आज बिहान बसेको कार्यपालिका बैठकले कोटीहोमको विवाद सम्बन्धमा वार्ता गर्न नेपाली कांग्रेस संसदीय दलका नेता पोखरा–२ का वडाध्यक्ष दिवासमान प्रधानाङ्ग र नेकपा एमाले संसदीय दलकी नेतृ पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगीलाई खटाउने निर्णय गरेको प्रबक्ता मोतीप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

पोखरा महानगरपालिकाभित्र रहेको फेवाताल र बेगनास्तालाको किनारमा कोटीहोम गर्न नदिने निर्णय कार्यपालिका बैठकले गरेको पोखरा २५ को वडाध्यक्ष समेत रहेका प्रबक्ता तिमिल्सिनाले बताएका छन् ।

पोखरा महानगरपालिकामा सोमबार भएको बैठकले बाराहीघाटमा आयोजित कोटीहोम सम्बन्धी विवाद समाधान गर्न जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधिको नेतृत्वमा पोखरा महानगर र कोटीहोम आयोजक मानव सेवा फाउन्डेशनका दुई÷दुई जनाप्रतिनिधि रहने गरी वार्ता समिति गठन गर्ने निर्णय भएको थियो। यही समितिले बाराहीघाटमा कोटीहोम गर्न दिने कि नदिने वा अन्यत्र उपयुक्त ठाउँको टुंगो लगाउने बताइएको छ ।

पोखरा महानगरपालिकाले मानव सेवा फाउन्डेशनलाई पोखराको लेकसाइडस्थित बाराहीघाटमा कुनै पनि हालतमा कोटीहोम गर्न नदिने पक्षमा देखिएको छ भने कोटीहोम आयोजक पक्ष मानव सेवा फाउन्डेशनले शुरुमा बाराहीघाटमा कुनै पनि हालतमा कोटीहोम गरि छाड्ने अडान लिएको भएपनि सोमबारको बैठक पछि भने उपयुक्त स्थानभएमा कोटीहोम अन्यत्र सार्न पनि मानसिक रुपमा रहेको संकेत दिएको छ ।

यसैबीच मानव सेवा फाउन्डेशनले बाराहीघाटमा कोटीहोम गर्न नपाएको अवस्थामा कुन ठाउँमा कोटीहोम गर्न उपयुक्त हुन्छ भन्ने बारेमा चर्चा शुरु भएको छ । तर उक्त कोटीहोम पोखरा महानगरपालिका वडा नम्बर १७ ढुंगेसाँघुस्थित हरिहर मन्दिर क्षेत्रमाहुनसक्ने आंकलन गर्न थालिएको हो ।

महानगरपालिकाको तर्फबाट वार्ता टोली सदस्य रहेकी राधिका शाही योगी हरिहर मन्दिर रहेको पोखरा १७ कि वडाध्यक्ष समेत रहेकाले हरेक वर्ष माघे संक्रान्तिमा ढुंगेसाँघु मेला लाग्ने स्थानमा कोटीहोम हुनसक्ने सबैको आंकलन रहेको छ ।