
देहरादुन, २७ फागुन । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वक्ता, लेखक तथा शान्तिदूत प्रेम रावतले देहरादुनको परेड ग्राउन्डमा हजारौँ श्रोताहरूलाई सम्बोधन गरेका छन् ।
देहरादुनमा विगत केही वर्षमा आएका परिवर्तनहरूको चर्चा गर्दै रावतले आफ्नो सम्बोधनमा भने, ‘यस संसारमा सबै कुरा परिवर्तन हुन्छन् तर तपाईँ जीवित रहेसम्म तपाईँको श्वासको आवागमनमा कहिल्यै परिवर्तन हुँदैन । श्वास आउनुजानु नै सृष्टिकर्ताको कृपा हो । त्यसैले तपाईँ यो श्वाससँग जोडिन सिक्नुहोस् तब तपाईँको जीवन रूपान्तरण हुनेछ अनि अझै राम्रो हुनेछ ।’
रावतले एउटा कथामार्फत आफ्नो सन्देश अझ स्पष्ट पार्दै भने, ‘स्वर्ग र नरक यहीँ छन् । तपाईँ क्रोध र अहङ्कारमा हुनुहुन्छ भने त्यतिखेर तपाईँ नरकमा हुनुहुन्छ । तपाईँको हृदय कृतज्ञता र प्रेमले भरिएको छ भने त्यतिखेर तपाईँ स्वर्गमा हुनुहुन्छ । अतस् आफ्नो जीवनमा स्वर्गको अनुभव गर्नुहोस् ।’

उनले आन्तरिक दृष्टिको महत्त्वमाथि प्रकाश पार्दै भने, ‘बाहिरका आँखाहरूलाई खोल्नु एउटा कुरा हो भने अर्को चाहिँ भित्रको आँखा खोल्नु हो । तपाईँले आफूभित्रका आँखालाई खोल्नुभयो भने तपाईँभित्र भएको कुरा देख्न सक्नुहुन्छ । त्यसपछि तपाईँको हृदय आनन्दले भरिन्छ । तपाईँभित्र रहेका अविनाशीलाई जान्नुहोस्, चिन्नुहोस् र आफ्नो जीवन सफल बनाउनुहोस् । मेरो सन्देश त यही हो । यो केवल शब्द मात्रै होइन । मसँग उनलाई अनुभव गर्ने विधि पनि छ । म यसैलाई ‘ज्ञान’ भन्छु ।’
रावतले आफ्नो ‘शान्ति शिक्षा कार्यक्रम’ (पिस एजुकेसन प्रोग्राम)ले विश्वभरका पाँच लाखभन्दा बढी मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याएको सुनाए । उनले आफ्नो सम्बोधनमा थपे, ‘आज म यही सन्देश लिएर आएको छु किनभने तपाईँको जीवनमा पनि परिवर्तन आओस् र तपाईँले आफ्नो जीवनको आनन्द लिन सक्नुहोस् ’

को हुन् प्रेम रावत ?
सन् १९७० को दशकमा एक विलक्षण प्रतिभाशाली बालक र प्रसिद्ध किशोर व्यक्तित्वका रूपमा आफ्नो यात्रा सुरु गरेका रावतले संसारभरका मानिसहरूलाई स्पष्टता, प्रेरणा र जीवनप्रतिको गहन बुझाइ प्रदान गर्दै आएका छन् ।
एक विश्व शान्तिदूतको भूमिकासँगै उनले करोडौँ मानिसहरूको जीवनमा सकारात्मक प्रभाव पारेका छन् । हाल उनको सन्देश ११० भन्दा बढी देशहरूमा सुनिन्छ । उनले हरेक व्यक्तिलाई आन्तरिक शान्ति र खुशीको व्यावहारिक मार्ग देखाउँछन् । उनका उल्लेखनीय उपलब्धिहरूमा तीनवटा गिनिज विश्व कीर्तिमान छन्, जुन सन् २०२३–२५ को अवधिमा स्थापित भएका हुन् । यी विश्व कीर्तिमानहरूमा एकल लेखकद्वारा आफ्नो पुस्तक ‘स्वयम् की आवाज’ वाचनमा सबैभन्दा धेरै उपस्थिति (१,१४,७०४ जना), एउटै सम्बोधनमा सबैभन्दा धेरै दर्शक संख्या (३,७५,६०३ जना), र बहुलेखक पुस्तक वाचनमा सबैभन्दा धेरै दर्शक संख्या (१,३३,२३४ जना) समावेश छन् ।
उनलाई सम्मानस्वरुप बिस वटाभन्दा बढी सहरहरूको साँचो तथा अन्य थुप्रै पुरस्कार प्रदान गरिएको छ । यसमध्येमा सन् २०१२ को प्रतिष्ठित एसिया प्यासिफिक ब्रान्ड लरियट लाइफटाइम अचिभमेन्ट अवार्ड पनि पर्दछ । यसअघि यो अवार्ड नोबेल शान्ति पुरस्कारका विजेता नेल्सन मन्डेला तथा स्टिब जब्सलाई प्रदान गरिएको थियो ।

लेखकका साथै प्रेम रावत ‘द प्रेम रावत फाउन्डेसन’ (टीपीआरएफ)का संस्थापक पनि हुन्, यस संस्थाले भोजन, पानी र शान्ति जस्ता आधारभूत मानवीय आवश्यकताहरू पूर्ति गर्ने कार्य गर्दछ । यस संस्थाको ‘जनभोजन’ कार्यक्रमले भारत, नेपाल, घाना र दक्षिण अफ्रिकामा विपन्न बालबालिका र अस्वस्थ वयस्कहरूलाई पौष्टिक भोजन प्रदान गर्दछ । उनको शान्ति शिक्षा कार्यक्रम १४०० भन्दा बढी शैक्षिक संस्थाहरूमा र १००० भन्दा बढी कारागारहरूमा सञ्चालित छ, जसले कैदीहरूमा पुनः अपराध गर्ने प्रवृत्ति घटाउन मद्दत गरेको बताइएको छ ।
सन् २०२३ मा प्रेम रावतले टेलिभिजन, पत्रपत्रिका, र रेडियो लगायतका विभिन्न माध्यमहरूबाट ९१.६ करोड मानिसहरूसम्म आफ्नो सन्देश पुर्याएका थिए । उनको ‘लाइफ एसेन्सियल’ पोडकास्ट ११० भन्दा बढी देशहरूमा सुनिन्छ, र उनका पुस्तकहरू ‘स्वयम् की आवाज’ र ‘शान्ति सम्भव छ’ विश्वभर लोकप्रिय छ । वक्ता र लेखक बाहेक उनी एक आविष्कारक, संगीतकार, कलाकार, फोटोग्राफर र कुशल विमानचालक पनि हुन्, उनीसँग १५,००० घण्टाको उडान अनुभव छ । उनी विवाहित हुन् र उनका चार छोराछोरी तथा चार नातिनातिनाहरू छन् ।
रावतको कार्यलाई सरकारी, गैरसरकारी संगठन, व्यापारिक संस्थान र विश्वभरका नागरिक समाजद्वारा मान्यता प्राप्त छ । उनले ब्रिटेनदेखि लिएर न्युजिल्यान्डसम्मका संसदहरू र हार्वर्ड तथा अक्सफोर्ड जस्ता प्रतिष्ठित विश्वविद्यालयहरूमा सम्बोधन गरेका छन् ।
सन् २०११ मा, उनी युरोपियन संघ (ईयू)को एक विशेष कार्यक्रममा मुख्य वक्ता थिए, त्यहाँ उनले ‘शान्तिका लागि प्रतिज्ञा’ (प्लेड्ज टु पिस) मा हस्ताक्षर गरे र यो पहलका लागि उनलाई राजदूत घोषित गरिएको थियो ।








प्रतिक्रिया