
काठमाडौं, २४ फागुन । नेपाली राष्ट्रिय महिला क्रिकेट टिम नामिबियासँग ६ विकेटले पराजित भएको छ ।
युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा आजदेखि सुरु भएको चार देशीय सिरिजअन्तर्गत नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याएको नामिबियाले खेल्ने क्रममा वर्षाले खेल अवरुद्ध भएपछि डक वर्थ लुइस नियम अनुसार १५ ओभरमा ७१ रनको नयाँ लक्ष्य तय भएको थियो ।
७१ रनको लक्ष्य नामिबियाले १४.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले १९.५ ओभरमा ९२ रन बनाएर अल आउट भएको थियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक १८ रन बनाएकी थिइन् भने कविता जोशीले १६, पूजा महतोले १३ रन बनाएकी थिइन् ।
त्यस्तै, नामिबियाका बलर विलका एमवाटिल र मेकेलाय एमवाटिलले ३–३ विकेट लिएका थिए भने कायलीन ग्रिनले २ विकेट लिएकी थिइन् ।
अब नेपालले अर्को खेल आइतबार आयोजक युगाण्डासँग खेल्ने तालिका रहेको छ ।








प्रतिक्रिया