२१ असार २०८३, आइतबार

महिला अधिकारका सम्बन्धमा नेपाल अरू देशभन्दा अगाडि नै छ : देउवा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २४ फागुन । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिला अधिकारका सम्बन्धमा नेपाल अरू देशभन्दा अगाडि रहेको बताएका छन् ।

११५औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाली कांग्रेसको केन्द्रीय महिला विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘नेपाली महिलाहरूको आह्वानः समानता र सशक्तीकरणको अभियान’ विषयक छलफल कार्यक्रममा सभापति देउवाले नेपालमा अधिकारका माध्यमबाट महिलाहरूको उत्थान र अधिकार मात्रै हैन जिम्मेवारी दिने सवालमा पनि विश्वका अरू देशभन्दा अग्रगामी रहेको जिकिर गरे ।

‘हरेक पालिकामा मात्रै हैन राज्यको हरेक निकायमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुने व्यवस्था गरिएको छ । यहाँ महिलाहरूले देशकै नेतृत्व गरेको अवस्था छ, अन्य कुनै देशले नेपालले जति अधिकार दिएको छैन,’ सभापति देउवाले भने, ‘अब थप अधिकार, समानता र सशक्तीकरणका पक्षमा सबै मिलेर नेतृत्वदायी भूमिकामा अग्रसर हुुने विश्वास लिएको छु ।’

पार्टी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले बनाइएका कानुन कार्यान्वयन गर्दै राज्य र पार्टीका हरेक तहमा महिलाको निर्णायक सहभागिता सुनिश्चित गर्न लाग्नुपर्नेमा जोड दिइन् । उनले क्षेत्रगत रूपमा विभाजन नभई समग्रतामा केन्द्रित भएर निर्णायक तहमा पुग्न ध्यान दिनुपर्ने बताइन् । पार्टी सभापति देउवा प्रधानमन्त्री हुँदा महिला, दलित र सीमान्तकृत समुदायको हक अधिकार स्थापित गर्नका लागि उल्लेख्य काम भएको उनको भनाइ थियो ।