
काठमाडौं, २४ फागुन । नेकपा (एमाले) केन्द्रीय सामाजिक सेवा विभागको २०औं बैठक सम्पन्न भएको छ ।
शनिबार विभाग प्रमुख कल्पना चापागाईंको अध्यक्षतामा सम्पन्न बैठकमा उपस्थित सदस्यहरूबीच सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा नीतिगत पृष्ठपोषण गर्ने बारेमा विस्तृत छलफल भएको थियो ।
बैठकमा मानव अधिकार एलायन्सको अधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित सामाजिक सेवा विभागका सदस्य विदुर सुवेदीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको थियो ।

यसैगरी, बैठकमा विगतका बैठकहरूमा दिइएको जिम्मेवारी तथा भएका कामहरूको प्रगति समीक्षा गरिएको थियो । बाँकी रहेका जिम्मेवारी निश्चित समयावधिमा सम्पन्न गर्न विभाग प्रमुख चापागाईंले सबै सदस्यलाई आग्रह गरिन् ।
बैठकमा विषय विज्ञहरूको रोस्टर तयार गर्ने, नीति तथा कार्यक्रमका लागि सुझावलाई अन्तिम रूप दिने र यसअघि विभागले सम्पन्न गरेको नीति संवादको प्रतिवेदनलाई पूर्ण रूप दिएर आगामी बैठकमा प्रस्तुत गर्ने विषयमा छलफल भएको बताइएको छ ।
नीति तथा कार्यक्रमका लागि विभागका तर्फबाट दिइने सुझाव सम्बन्धमा पुनः छलफल गरिएको थियो । यस कार्यका लागि विभागका सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री विमला पौडेल राईलाई सुझावहरूलाई पूर्णता दिई आगामी बैठकमा प्रस्तुत गर्ने जिम्मेवारी दिइएको छ । यी सुझावहरूमा ऐन कानुन निर्माण, अन्तर्राष्ट्रिय सहयोगदाताहरूसँगको समन्वय र पारदर्शिता, समाज कल्याण परिषदको संरचनागत तथा प्रणालीगत सुधार लगायतका विषयहरू समावेश छन् । साथै, बैठकमा नेपाल रेडक्रस सोसाइटीको वर्तमान अवस्था र गैरसरकारी महासंघको आगामी हप्ता हुन गइरहेको अधिवेशनका बारेमा पनि छलफल भएको थियो ।
विभागको अर्को बैठक आगामी चैत २३ गते शनिबार बस्ने बताइएको छ ।









प्रतिक्रिया