२२ असार २०८३, सोमबार

‘बी’ डिभिजन लिग आइतबारबाट 

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सहिद स्मारक ‘बी’ डिभिजन लिग २०८१ आइतबारबाट सुरु हुँदैछ । खेलअघि शनिबार आयोजित पत्रकार सम्मेलनमा ‘बी’ डिभिजन क्लबका प्रशिक्षक र कप्तानहरूले शहीद स्मारक बी डिभिजन लिग २०८१ को लागि आफ्नो योजना प्रस्तुत गरेका छन् ।

तीन वर्षपछि हुन लागेको ‘बी’ लिग सम्पूर्ण तयारी सकिएको एन्फाले जनाएको छ । एन्फाले आज पत्रकार सम्मेलनमा बी लिग दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सञ्चालन हुने जनाएको छ ।

लिगमा १४ क्लबले सिंगल राउन्ड रोबिन आधारमा लिग खेल्नेछन् । लिग अवधिभर ९१ खेल हुनेछन् ।

लिगमा आरसीटी, श्री भगवती क्लब, टुसाल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, ब्वाइज युनियन क्लब, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब, श्री कुमारी क्लब, बाँसबारी क्लब, नयाँ वस्ती युथ क्लब, सरस्वती युथ क्लब, वीरगञ्ज युनाइटेड क्लब, झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेडले ए–डिभिजन उक्लन दाबेदारी प्रस्तुत गर्नेछन् ।

लिगको समाप्तीमा अंक तालिकाको शीर्ष २ मा रहने क्लब ए–डिभिजनमा बढुवा हुनेछन् । अंक तालिकाको पुछारमा रहने २ क्लब सी– डिभिजनमा घटुवा हुनेछन् ।

लिगको विजेता टोलीले १५ लाख, दोस्रोले १० र तेस्रो टोलीले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ । फेयर प्ले टोलीलाई एक लाख, उत्कृष्ट खेलाडीलाई र एक लाख, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई समान ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

बी लिगको कुल बजेट ३९ करोड ३० लाख १ हजार ८ सय १३ रुपैयाँ रहेको छ । तयारीको लागि प्रत्येक क्लबलाई १४ लाख ५० हजार प्रदान गरिसकेको पनि एन्फाले जनाएको छ । लिगको सम्पूर्ण खेलहरू प्राइम टिभीबाट प्रत्यक्ष प्रसारण हुनेछ ।