
काठमाडौं, २२ फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रमा भरोसा गर्ने पार्टीहरू देश र लोकतन्त्र प्रति चुनौती आउँदा एक ठाउँमा उभिनु स्वाभाविक भएको बताएका छन् ।
नेकपा (एमाले) वाग्लुङद्वारा आयोजित वडा केन्द्रित अभियानको अभिमुखीकरण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै महासचिव पोखरेलले कांग्रेस र एमाले मिल्नुको उद्देश्य राजनीतिक अस्थिरता अन्त्य गर्नको लागि भएको बताएका हुन् । ‘चुनौतीलाई सामना गर्न लोकतन्त्रमा विश्वास गर्ने दलहरू मिल्नु स्वाभाविक थियो, हामी अहिले मिलेका छौँ’, उनले भने ।
नेता र पुराना पार्टीलाई गाली गर्नु भन्दा पनि पुराना पार्टीलाई काम गर्ने अवसर दिनु पर्ने उनको भनाइ छ । जसले आन्दोलनको नेतृत्व गरे ती राजनीतिक दलले देशमा सरकार चलाउन नै नपाएका उनले बताए । ‘यो मुलुक राजतन्त्रको अकर्मण्यताको कारणले पछाडि पर्यो, उसको स्वार्थी व्यवहारको कारण आज हाम्रो मुलुक पछाडि पर्यो’, पोखरेलले भने ।
अहिले एउटा स्वार्थी जमात फेरि राजा आऊ देश बचाउ भन्दै नारा लगाएर हिँडेको बताउँदै उनले जुन राजाले यो मुलुकलाई यो हालतमा पुर्यायो, फेरि राजा आऊ देश बचाउ भन्ने मूर्खहरू भएका टिप्पणी गरे ।
नेपालमा हिंसात्मक राजनीतिलाई अगाडि बढाउने कुरामा राजतन्त्रको पनि हात रहेको उनले बताएका छन् । माओवादीलाई राजतन्त्रले उक्साएर राजनीतिक दलहरू विरुद्ध प्रयोग गरिएको बताउँदै महासचिवले नेपाली राजनीतिलाई हिंसामा होम्ने र जातजातिका नाममा अस्थिरता मच्चाउने काम राजतन्त्रको आडमा माओवादीले गरेको धारणा राखे । नेपालमा नीतिका आधारमा अब राजनीतिक ध्रुवीकरण आवश्यक रहेको उनले बताए । देशलाई अब दुई ध्रुवमा विभाजित गर्नुपर्ने र त्यसको लागि बलिया दुई राजनीतिक दल आवश्यक रहेको उनको भनाइ छ ।
देश बनाउने हो भने आँट र सामर्थ्य भएको नेता आवश्यक पर्ने धारणा राख्दै त्यो आँट र सामर्थ्य नेकपा एमालेका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको पोखरेलले स्पष्ट पारे ।








प्रतिक्रिया