१५ असार २०८३, सोमबार

सरकारलाई बालेनको पत्र- ‘त्रुटिपूर्ण कार्य गर्नेलाई हाजिर गराएमा पर्ने कानुनी झन्झटको जिम्मा लिनु’

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निलम्बित प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्न नदिने अडान कायमै राखेका छन् ।

निलम्बित प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईले काम गर्ने वातावरण बनाइदिन माग गर्दै सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेका थिए । उनको पत्रपछि मन्त्रालयले काम गर्ने वातावरण तयार गरिदिन महानगरपालिकालाई पत्राचार गरेको थियो ।

तर बालेनले त्रुटिपूर्ण काम गर्ने गुरागाईँलाई हाजिर हुन नदिने अडान कायमै राखेका छन् । बालेनले हाजिर दिनैपर्ने भए आइपर्ने कानुनी झन्झटको जिम्मा लिन वा अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नहुन्जेल सम्मका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिई कार्यालय सुसञ्चालनमा सहयोग गर्न अनुरोध गरेका हुन् ।

‘साझेदारी बोर्ड तथा नगर कार्यपालिकाले नीतिगत तहमा निर्णय गरी निक्यौल गर्नुपर्ने परियोजनाको महत्त्वपूर्ण विषय मध्येको भवन संरचनाको सम्बन्धमा साझेदारी बोर्डमा विचाराधीन अवस्थामा रही अध्ययन भइरहेको परियोजनाको सम्झौतामा उल्लेख भएको भवन निर्माण गर्ने अवधि समाप्त भई सकेपश्चात् प्रचलित कानुनी व्यवस्था, मूल सम्झौताको आधारभूत सर्त, भवन मापदण्ड तथा भवन संहिता समेत विपरीत हुने गरी आधिकारिक तहमा विचाराधीन रहेको विषयमा त्रुटिपूर्ण कार्य गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएमा सो परियोजना लगायत अन्य कार्यहरू समेतमा नकारात्मक प्रभावका साथै कानुनी झन्झट पर्ने भएकोले सो जिम्मा लिई वा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ संशोधन गर्न वा अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नहुन्जेल सम्मका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिई कार्यालय सुसञ्चालनमा सहयोगको लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गरी पत्राचार गर्ने भनी मिति २०६१/११/२२ मा प्रमुख स्तरीय निर्णय भएकोले सो अनुसार हुन अनुरोध गरिन्छ’, बालेनको तर्फबाट वरिष्ठ शाखा अधिकृत शान्ता पहाडीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।