
–टेकराज पौडेल
दरबारले पालेका, हुर्काएका, पढाएका र अझ सदिऔंदेखि परमपरागत राजतन्त्रकै सेवा गर्ने हो भन्ने मनोवैज्ञानिक चेत बोकेका प्रधानसेनापति तथा सैन्यबल जगजगी भएको बेलामा त राजतन्त्र टिकाउन सकिएन । जहाँ रुकमाङ्गद कटुवालदेखि धेरै थापा पाण्डेहरु जो दरबारप्रति अथाह मोह भएका सेनाका रथिहरु थिए उनीहरु एउटा आदेशको बलमा मार्न मर्न तयार हुन्थे । अबको एक्काइसौं शताब्दीमा अब राजतन्त्रले जनताको लागि काम गर्न सक्ने ल्याकत राख्दैन् भन्ने दरबारले हुर्काएका सेनाका जर्नेलहरुलाई लागेर नै ठूलो रक्तपात बिना राजतन्त्रको अन्त्य भएको हो ।
कुनै पनि व्यवस्था ल्याउन सजिलो त हुँदैन ल्याइहाले पनि त्यस्लाई टिकाउन त्यत्तिकै गार्हो कुरा हो । २०५९ साल माघ १९ गते राजा ज्ञानेन्द्रले बहुदलीय व्यवस्थामाथि कु गरे र सक्रिय राजतन्त्र चलाउने चेष्टा गरे । देशमा माओवादी द्वन्दले देश आक्रान्त पारेकोले बहुदलवादीहरुले माओवादीलाई आफूले तह लगाउन नसक्ने भन्दै खासगरी भारत र पश्चिमाहरुसँग बाचा गरे । भारत पनि होलेरिमा माओवादीहरुलाई घेराउ गराउन राजासँग सेना प्रयोगको लागि अनुरोध गर्दा राजा वीरेन्द्रले नमानेको हुँदा साच्चै सेना राम्रोसँग प्रयोग हुन राजा नै उपयुक्त हुन सक्दछ भन्ने ठाने होला । राजाले कु त गरे तर बहुदलीय व्यवस्थाको विरुद्धमा हो भन्ने बुझ्न छिमेकी र पश्चिमाहरुलाई गार्हो भएन ।
तत्कालीन प्रधानमन्त्रीसहित मन्त्रीहरु विपक्षी दलका नेताहरुको पक्राउ र नजरबन्द गर्न थाले भने उता राजाले विद्रोहीसँग हिमचिम बढाएर बहुदलीय व्यवस्था र परिपाटीको हुर्मत लिन थाले । पर्ख र हेर भनेर लागेका छिमेकीहरु पनि विस्तारै बुझ्न थाले । राजतन्त्रले चुनाव पनि नगराउने र शक्ति बलियो बनाउने खेल हो देशको समस्या समाधान गर्न तिर लागेन ।
हुन त यहाँ छिमेकीलाई कसैले देख्नेगरी कसैले लुकाएर आमन्त्रण गर्दछन । तर खास कुरा के हो भने नेपालको आत्मनिर्भर अर्थतन्त्र छैन । आजको युगमा बन्द अर्थ व्यवस्था चलाउन सम्भव छैन माओकालिन सोच आखिर फेल खायो भने नेपालमा सेना प्रहरी र कर्मचारीहरुलाई मात्र धान्ने वार्षिक बजेटको भरमा खुला अर्थ व्यवस्था र अन्तर्राष्ट्रिय सम्बन्धको अर्थका कारण राजतन्त्र झुक्नै पर्दछ ।
आज राजावादीहरु र राप्रपाहरुले के भ्रम दिइरहेका छन् भने यो देशको विकास र समृद्धिको एक मात्र आधार राजतन्त्र हुन सक्दछ । हिजो देशमा महेन्द्र राजमार्ग, पृथ्वी राजमार्ग कोदारी लगायत जति पनि बाटो बने, जति उद्योग खोलिए ती सबै राजाका पालामा बनेका थिए फेरि राजा आउने हो भने बन्न सक्दछन भन्ने प्रचार व्यापक छ । तर उनीहरुले के कुरा लुकाएका छन् भने ती जति पनि बाटो बने र जतिपनि उद्योग खुले सबै विदेशी अनुदान र सहयोगका हुन् । यी त्यति बेला यसरी बन्नुका कारण यो थियो कि कतिपय विश्वमा घटित विभिन्न परिघटना र परिस्थिति । जस्तो विश्वव्यापि रुपमा उदाएका दुई ध्रुव । पुँजीवादी र समाजवादी ध्रुव । एकातिर रुस, पुर्वी युरोप र चाइना । अर्कोतर्फ अमेरिका, भारत र बेलायत । यी देशहरुले छिमेकी देश र सामरिक महत्वका अर्थ राख्ने देशहरुलाई आफूहरुले अगालिरहेको व्यवस्थाको समर्थक बनाउनु । भारतको हस्तक्षेप कम गराउन चाइनाको सहयोग । भारत–रुसको अन्तरसम्बन्धबाट चर समातेर अमेरिकी सहयोग लिने जस्ता कारणले नेपालले अन्तर्राष्ट्रिय सहयोग समर्थनको बीच विकास भएको हो । अझ चाइना र भारतको अन्तरविरोधमा खेलेका राजा महेन्द्रले चाइनाबाट राम्रै सहयोग प्राप्त गरेका थिए ।
राजतन्त्रको बेला पनि देशको आफ्नै खर्चमा स्वाधिन र स्वाभिमान पूर्ण बनेका एउटा पनि सडक बाटो र उद्योग होइनन् । एक र अर्कोको खेलाइमा प्राप्त आयोजना थिए । अब अन्तर्राष्ट्रिय त्यस्तो परिस्थिति छैन् । संसार एक धुव्रीय भैसक्यो । बिआरआई स्वीकार गर्यो भन्ने रिस र आवेगमा भारतीय र पश्चिमाहरुले आफ्ना आयोजना रोक्ने रणनीतिक दाउपेचमा छन् । एकान्ताका ९५ प्रतिशत अनुदान सहयोग र ५/७ प्रतिशत ऋण लिए पुग्थ्यो अहिले १० प्रतिशत ऋण लिएर हुँदैन ९० प्रतिशत ऋणलिए मात्र १० प्रतिशत अनुदान दिने स्थिति छ ।
आजका बहुआयामिक क्षेत्रमा पुगिसकेका नेपाली बहुलवादको संसारभरिको उपयोग र अनुभव गरेको अल्फाबिटा युग पार गरेर जेन्बिटाको फराकिलो राजमार्ग छोडेर बन्द सामाजिक व्यवस्थामा को रमाउन सक्ला ? आर्यघाटमा पुगिसकेको व्यवस्था फर्काउँछौँ भनेर सडकमा धर्म गर्नुभन्दा पहेँला कपडा लगाएर मठमन्दिरमा पूजाआजा गरेमा जिउलाई सुख शान्तिको अनुभव प्राप्त होला नि ।








प्रतिक्रिया