
काठमाडौं, २१ फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नयाँ पुस्तामा परिवर्तनको अनुभूति हस्तान्तरण गर्न नसकिएको बताएका छन् ।
मानव अधिकार रक्षकहरूको पाँचौँ राष्ट्रिय सम्मेलन एवं राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) को छैटौँ राष्ट्रिय महाधिवेशन समारोहलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले समाजमा निराशा, असन्तुष्टि र अराजकता उत्पन्न हुनुको कारण त्यही भएको बताएका हुन् । ‘आफूले गरेको काम समाजमा सम्प्रेषण गर्ने कुरामा हामी चुकेका छौँ’, उनले भने ।
राजनीतिक र सामाजिक क्षेत्रमा गरेको कामको अनुभूति नयाँ पुस्तालाई गराउने कुरामा पार्टी र सामाजिक संस्था चुकेको उनले बताए । आफ्नो समयमा गरेको काम सही ढङ्गले सम्प्रेषण गर्न नसक्दा असन्तुष्टि बढेको उनको भनाइ छ ।
कुनै पनि राष्ट्रको समृद्धि र विकासको लागि बलिया राजनीतिक दल आवश्यकता रहेकोमा महासचिवले जोड दिएका छन् । यसको लागि जनमतलाई ध्रुवीकरण गर्नुपर्ने पोखरेलले बताए । ‘त्यस कारण अब नेपाली समाजमा धेरै राजनीतिक दल होइन बलिया राजनीतिक दल आवश्यक पर्दछ, धेरै संघ संगठन होइन बलियो संगठित शक्ति आवश्यक पर्दछ’, उनले भने ।
राष्ट्र निर्माणको लागि हिजो जसरी चलियो अब त्यसरी काम गरेर नहुने बताउँदै अब नयाँ ढङ्गले बलियो राजनीतिक शक्ति निर्माण गरेर अघि बढ्न जरुरी रहेको पोखरेलले स्पष्ट पारे । समाजलाई अघि बढाउन नागरिक कर्तव्य सहितको अधिकारको अवधारणा अघि बाउन पर्नुमा उनले जोड दिएका छन् । नागरिक कर्तव्य विनाको अधिकार अराजक हुने पोखरेलले बताए ।
जनतासँग नजोडिएको राजनीतिले मुलुकको विकास र समृद्धि गर्न नसक्ने बताउँदै उनले मुलुकको विकासको लागि व्यक्ति मात्र बलियो भएर नहुने त्यसको लागि राज्य बलियो हुनु पर्ने स्पष्ट पारे ।
नेपालको राजनीतिमा महिलाको सहभागिता सत प्रतिशत हुनसक्ने कानुनी प्रबन्ध रहेको बताउँदै पोखरेलले व्यवहारमा त्यो ३३ प्रतिशत मात्र सीमित रहेको बताए । अधिकार दिएर मात्र नहुने बताउँदै उनले त्यो आर्थिक र सामाजिक कुरामा केन्द्रित हुने बताए । त्यसैले अबको लक्ष आर्थिक सामाजिक परिवर्तनको दिशामा केन्द्रित हुनु पर्ने पोखरेलले धारणा राखे ।
नेपालमा राजनीतिक स्थायित्वको लागि पुराना र ठुला राजनीतिक दललाई नै थप बलिया बनाउनु पर्नेमा उनको भनाइ छ । नेपालका राजनीतिक दलले काम गर्ने मौका नै नपाएको कारण सोचे जस्तो काम गर्न नसकेका पोखरेलले स्पष्ट पारे । ‘लोकतन्त्रको लागि लडेका दललाई कमजोर बनाइयो भने देश बन्दैन’, उनले भने ।
राजनीतिक दलहरूले शासन गरेको समयमा पनि राजनीतिक अस्थिरताको कारण काम गर्ने वातावरण नै नबनेको उनको धारणा थियो । ३२ सिटे दलले ठुला पार्टी माथि शासन गर्ने अवस्थामाले देश अस्थिरताको भुमरीमा फसेकाले त्यसैलाई सदाको लागि अन्त्य गर्न दुई ठुला राजनीतिक दल एक ठाउँमा आउनु परेको पोखरेलले स्पष्ट पारे ।
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बन्नबाट अब कसैले रोक्न नसक्ने बताउँदै पोखरेले पार्टीलाई निर्णायक शक्ति बनाउने अभियानमा जुट्न पार्टी र जनसंगठनका नेताहरूलाई आह्वान गरे । त्यसको लागि एमाले विरुद्ध सामाजिक सञ्जाल मार्फत फैलाइएको भ्रम चिर्ने काममा लाग्ने पनि उनले आग्रह गरेका छन् ।








प्रतिक्रिया