
–अन्जनी कुमार अधिकारी
उदयपुर, २१ फागुन । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० स्थित त्रियुगा नदीमा निर्माणाधीन मोटरेवल पक्की पुल निर्माणका लागि बजेट अभाव भएको छ ।
वर्षाको समयमा टापुमा परिणत हुने चौदण्डीगढी–९ र १० हडियालाई मदन भण्डारी राजमार्गसँग जोड्ने हडिया–देवधारस्थित त्रियुगा नदीमा पुल निर्माणका लागि २०७९ सालमा सम्झौता भएर पुल निर्माणको काम सुरु भएको थियो ।
२०७९ सालमा सूर्य एण्ड सन्स प्रालि धरानले भ्याटसहित ४० करोड ३४ लाख ८८ हजार ८ सय रुपैयाँमा डिजाइन एन्ड बिल्ड प्रविधिमा २०८३ साल जेठ महिनासम्ममा काम सम्पन्न गर्ने गरी पुल निर्माणको जिम्मा लिएको थियो । पुल ६ पिलरसहित ५ स्पानको रहेको निर्माण कम्पनीले जनाएको छ ।
हालसम्म पुल निर्माणको ३५ प्रतिशत सम्पन्न भएको पुल सेक्टर धरानका डिइ दीपक झाले बताए । झाका अनुसार पुल निर्माणका लागि अहिले आवश्यक बजेटको अभाव रहेको छ । निर्माण कम्पनीले काम सम्पन्न गरेको बिल पेस गरे पनि बिल अनुसारको रकम समेत पाउन सकेको छैन । यसका लागि आवश्यक रकम उपलब्ध गराउन आफूले मन्त्रालयसँग रकम माग गरिरहेको समेत झाले जानकारी दिए ।

निर्माण कम्पनीले समयमा भुक्तानी नपाउने हो भने आफूहरु पुल निर्माणको कार्य जारी राख्न नसक्ने कम्पनीका सञ्चालक उमेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार अहिलेसम्म निर्माण कम्पनीले ७ करोड ७० लाख रुपैयाँको बिल पेश गरेको छ । यद्यपि कम्पनीले ३ करोड ७१ लाख मात्र रकम प्राप्त गरेको छ ।
श्रेष्ठले भने, ‘अझै ४–५ दिन भित्र करिब ५ करोडको बिल पेश हुँदैछ पुरानै भुक्तानी बाँकी रहेको अवस्थामा आफूले निर्माणको कामलाई निरन्तरता दिन गाह्रो हुन्छ ।’
निर्माण कम्पनीले पेश गरेको बिलको भुक्तानी समयमा नपाउँदा पुल निर्माणको काम समेत समयमा सम्पन्न नहुने लगभग पक्का छ । निर्माण कम्पनीले भने आफूले पेश गरेको बिल अनुसारको भुक्तानी समय समयमा पाए पुल निर्माणको काम समेत सम्पन्न मितिभन्दा अगाडि नै सम्पन्न गर्ने दाबी गरेको छ ।
वर्षाको समयमा वारिपारिको समस्या हुने हडिया बासीका लागि पुल बन्ला र वारिपारिको समस्या समाधान होला भन्ने ठूलो सपना बजेट अभावले कतै तुहिने त हैन भन्ने चिन्ताले यति बेला स्थानीयलाई सताएको चौदण्डीगढी–१० का वडा अध्यक्ष धर्मराज खड्काले बताए ।
वर्षाको समयमा हडियाका स्थानीयलाई आफ्नै पालिकाको केन्द्र बेल्टार जान समेत मधेश प्रदेशको सप्तरी हुँदै जानु पर्ने बाध्यता रहेको छ ।








प्रतिक्रिया