१७ असार २०८३, बुधबार

उदयपुरमा प्रतिबन्धित मुंग्री माछा बरामद गरी नष्ट गरियो

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर, २० फागुन । मानव स्वास्थ्यलाई असर पुग्ने सरकारबाट प्रतिबन्धित मुंग्री माछा बरामद गरी उदयपुर प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले चेकजाँचका क्रममा त्रियुगा नगरपालिका–६ लालापत्तास्थित चेक पोस्टबाट वेवारिसे अवस्थामा सदरमुकामतर्फ भित्र्याउँदै गर्दा प्रतिबन्धित मुंग्री माछा अन्दाजी ९० किलो बरामद गरेको हो ।

बरामद गरिएको माछा मंगलबार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय उदयपुरका पशु प्राविधिक सुन्दर यादव, नेपाल पत्रकार महासंघ उदयपुरका सचिव तुलसीप्रसाद कोइराला, जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक केदारमान दोङसहितको रोहवरमा जिल्ला प्रहरी कार्यालय परिसरमै खाल्डो खनी माछा नष्ट गरिएको हो ।

सरकारले विज्ञहरुको सुझावका आधारमा वर्षौ अघि बेचबिखनमा प्रतिबन्ध लगाएको मुंग्री माछाले क्यान्सर, अर्थराटिस, मधुमेह जस्त प्राणघातक रोग लाग्ने बताइएको छ । मुंग्री माछा हुर्काउन फर्मालिनयुक्त माछाको आन्द्राभुँडी, भैंसीको मासुको अखाद्य अंश, सिनो आदि प्रयोग गर्ने गरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय उदयपुरका पशु प्राविधिक यादवको भनाई छ । जल प्रदूषण हुनुका साथै माछामा अत्याधिक मात्रामा हेभिमेटल समेत पाइने भएकाले यो जातको माछाको सेवनबाट क्यान्सर, अर्थराटिस, मधुमेह लगायतका घातक रोगहरु निम्तिने विज्ञहरुको भनाइ छ ।