
मनहरी, २० फागुन । नेकपा (एमाले) मनहरी गाउँपालिका कमिटीको दोस्रो पूर्ण बैठक मनहरी गाउँपालिका–९ रजैयास्थित अग्निहोत्राश्रममा सम्पन्न भएको छ ।
मंगलबार पालिका कमिटीका अध्यक्ष नवीन सुवेदीको अध्यक्षतामा बसेको बैठकले तीन महिने जरा अभियानअन्तर्गत मनहरी गाउँपालिकाका ९ वटै वडामा भएका पार्टी र जनसंगठन कमिटीहरुको प्रगति विवरणहरुको समीक्षा गरेको थियो ।
बैठकमा हरेक वडामा खटिएका जिल्ला कमिटीका सदस्यहरुले वडाको वस्तुगत अवस्था र आगामी दिनमा गर्नुपर्ने कामहरुका बारेमा रिपोर्टिङ गरेको गाउँपालिका कमिटीका सचिव पोशकबाबु विष्टले बताए । तीन महिने अभियानको मध्यावधि समीक्षा गरिएको र आगामी चैतको दोस्रो साता आयोजना हुने तेस्रो पूर्ण बैठकमा जरा अभियानको प्रभावकारिता मापन हुने उनले बताए ।
बैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रीय कमिटी सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाले जरा अभियानले पार्टीका गतिविधिहरुलाई सक्रिय बनाउँदै सुसुप्त रहेका शक्तिहरुलाई उजागर गर्ने बताए । उनले पार्टी र सरकारप्रति अहिले भइरहेको अनावश्यक आरोप, टिप्पणी र प्रचारबाट एमालेजन सचेत हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बागमती प्रदेश कमिटी उपसचिव एवम् प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले संगठन निर्माण, परिचालन, एजेण्डाको उठान लगायतका विषयहरुमा महत्वपूर्ण मन्तव्य व्यक्त गरेकी थिइन् ।
जिल्ला अध्यक्ष श्रीधर पोखरेलले जिल्ला कमिटीले गरेको निर्णयहरुको कार्यान्वयन पालिका कमिटी, वडा कमिटी र टोल कमिटीहरुले गर्नुपर्ने भन्दै जरा अभियानमा सबैजना जोडिनुपर्ने बताए ।
कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् मनहरी गाउँपालिका इन्चार्ज अर्जुन अर्याल, प्रदेश कमिटी सदस्य एकराज उप्रेती, जिल्ला कमिटी उपसचिव आरती पाठकसहित मनहरी गाउँपालिकाभित्र रहेका जिल्ला कमिटी सदस्यहरुको सहभागिता रहेको थियो ।








प्रतिक्रिया