
काठमाडौं, १३ फागुन । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले ११औं वार्षिक साधारणसभा सफलतापूर्वक काठमाडौंमा सम्पन्न गरेको छ । सभाले लगानी प्रवर्द्धन, पर्यटन क्षेत्रको विस्तार, र नेपाल तथा इटालीबीचको व्यापारिक सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता गरेको छ ।
कार्यक्रम विशिष्ट मानार्थ सदस्य तथा संरक्षक राजेशकाजी श्रेष्ठको मुख्य आतिथ्यता तथा संघका अध्यक्ष सञ्जय अग्रवालको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा नेपालका लागि इटालीका मानार्थ वाणिज्य दूत प्रतिमा पाण्डे, संघका वरिष्ठ उपाध्यक्ष अरनिको राजभण्डारी, उपाध्यक्ष रुपक राजवंशी, उपाध्यक्ष मनोज कुमार ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संघका महासचिव मनोज श्रेष्ठ भाडेलले नेपालको सांस्कृतिक, ऐतिहासिक तथा भौतिक सम्पदाको पुनर्निर्माणमा इटालीको दीर्घकालीन सहयोगप्रति आभार व्यक्त गर्दै भने, ‘नेपालको सम्पदा संरक्षणमा इटालीको योगदान महत्वपूर्ण रहँदै आएको छ । हामी यो सहकार्य हाम्रो दुई देशबीचको मित्रताको स्थायी प्रतीकका रूपमा रहने विश्वास गर्छौँ ।’
साधारणसभामा नेपाल–इटाली आर्थिक सम्बन्धमा योगदान पुर्याउने व्यक्तित्वहरू तथा संस्थाहरूको सम्मान गरिएको थियो । संरक्षक राजेश काजी श्रेष्ठ र मानार्थ वाणिज्य दूत प्रतिमा पाण्डेलाई विशिष्ट सम्मानस्वरूप कदरपत्र प्रदान गरिएको थियो । साथै, अशंक समसेर जंगबहादुर राणालाई २०२४ का ‘वर्षको उत्कृष्ट सदस्य’ को रूपमा सम्मानित गरिएको थियो ।
संघका अध्यक्ष सञ्जय अग्रवालले नेपाल–इटालीबीचको राजनयिक तथा आर्थिक सम्बन्धको लामो यात्राको चर्चा गर्दै नेपाल–इटालीबीच छ दशकभन्दा बढीको व्यापारिक सहकार्यलाई सन्तुलित र दिगो रूपमा विस्तार गरिने लक्ष्यमा संघको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । इटालीले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको र विशेष गरी १९९० मा लोकतन्त्रको स्थापनापछि र २०१५ को भूकम्पपछि इटाली सरकारले पुर्याएको सहयोग ऐतिहासिक रहेको उनले स्मरण गरे ।
संघले इटालीबाट थप लगानी आकर्षित गर्ने तथा नेपालमा इटालीका पर्यटकहरूको आगमन प्रवर्द्धन गर्ने लक्ष्य राखेको बताउँदै उनले भने, ‘हामी नेपाल–इटालीबीचको आर्थिक सहकार्यलाई अझ सुदृढ पार्दै दिगो आर्थिक वृद्धि हासिल गर्न केन्द्रित छौँ ।’








प्रतिक्रिया