११ असार २०८३, बिहिबार

नेकपा एसका २ दर्जन नेता कार्यकर्ता एमालेमा फर्किए, वरिष्ठ उपाध्यक्ष पोखरेलले गरे स्वागत

30.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १२ फागुन । नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीका पूर्वसदस्य शिवहरि बर्तौलासहित करिब दुई दर्जन नेता कार्यकता नेकपा (एमाले)मा फर्किएका छन् ।

आज हेटौंडास्थित पार्टी कार्यालयमा बसेको एमाले मकवानपुरको पूर्ण बैठकमा उनीहरु एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले स्थायी कमिटी सदस्य तथा बागमती ईन्चार्ज डा. राजन भट्टराई, एमाले केन्द्रीय सदस्य तथा मकवापुर ईन्चार्ज रामेश्वर रानालगायतका नेताहरुले पार्टीमा स्वागत गरे ।

बर्तौलासहित समाजवादी मकवानपुरका जिल्ला कमिटी सदस्य मानबहादुर बल, पूर्व जिल्ला कमिटी सदस्य कर्णबहादुर पाख्रिन, देवलाल गोले, सुनिलकुमार गोले, लोकबहादुर घिसिङ एमालेमा प्रवेश गरेका हुन् ।

यसैगरी, समाजवादी भीमफेदी गाउँपालिका कमिटीका सचिवालय सदस्य रवि खड्का, पालिका कमिटी सदस्य वीरबहादुर बल, शेरमान थापा, हेटौंडा–१ उपसचिव भुपाल थिङलगायत दुई दर्जन नेता कार्यकर्ता एमालेमा फर्किएका एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामाले जानकारी दिए ।

एमालेमा फर्किएका बर्तौलाले समाजवादी पार्टीबाट देश नबन्ने निष्कर्षसहित एमालेमा समाहित भएको बताए । उनले समाजवादीमा रहेकाहरुलाई एमालेमा फर्कन र पार्टी काम लाग्न आग्रह गर्दै एमालेको मिसन ८४ मा कटिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

पार्टी प्रवेश कार्यक्रमलाई सहजीकरण गरेका उपाध्यक्ष लामाले पार्टीको तीन महिने वडा केन्द्रीत जरा अभियानअन्तर्गत पार्टी प्रवेश कार्यक्रम भएको बताए । उनले अभियानअन्तर्गत जिल्लाको १० वटै स्थानीय तहको १०२ वटै वडा कमिटीमा बैठक सञ्चालन भएको र पार्टीको जरा अभियान सक्रिय रुपमा सञ्चालन भइरहेको उपाध्यक्ष लामाको भनाइ छ ।

आजबाट सुरु भएको दुईदिने जिल्ला कमिटी बैठकमा सबै स्थानीय तह कमिटीको रिर्पोटिङ लिने र अभियानलाई अझ बृहत ढंगले अगाडि बढाउने बारेमा छलफल हुने बताइएको छ । पार्टी जिल्ला अध्यक्ष श्रीधर पोखरेलको अध्यक्षतामा बसेको जिल्ला कमिटी बैठकमा एमाले स्थायी कमिटी सदस्य तथा बागमती ईन्चार्ज भट्टराईले निर्देशनात्मक मन्तव्य राखे ।