
काठमाडौं, १२ फागुन । सत्तारुढ दल नेकपा (एमाले)का स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा परेको विषयमा माओवादी केन्द्रलाई जिम्मेवार ठहर्याएका छन् ।
माओवादी केन्द्रका सांसद माधव सापकोटाले ग्रे लिस्टमा परेको विषयमा सरकारको औचित्यमाथि प्रश्न उठाउँदै राजीनामा दिन भनेपछि त्यसको जवाफ दिँदै नेता भट्टराईले माओवादी केन्द्रकै नेतृत्वमा देश ग्रे लिस्टमा परेको बताएका हुन् ।
नेता भट्टराईका अनुसार माओवादी द्वन्द्वकालमा जम्मा गरिएको अकुत सम्पत्ति, जबरजस्ती चन्दा, लुटपाट र अपहरणबाट उठाइएको रकम अझै पनि वित्तीय प्रणालीमा अस्वच्छ रूपमा मिसिएको छ । नेता भट्टराईले प्रचण्ड प्रधानमन्त्री रहँदा समेत एफएटीएफले पटक–पटक चेतावनी दिएको खुलाएका छन् । ‘एफएटीएफ ग्रे लिस्टको कारण नेपाललाई ग्रे लिस्टमा राख्नुको मुख्य कारण भनेकै वित्तीय पारदर्शिता अभाव, गैरकानुनी लेनदेनको निगरानी कमजोरी, र आतंकवादी गतिविधिमा आर्थिक सहयोग हुन सक्ने सम्भावना हो । प्रचण्ड प्रधानमन्त्री भएका बेला नै एफएटीएफले पटक–पटक चेतावनी दिएको थियो ।’ भट्टराईले भने ।
‘२०६३ पछि माओवादी नेतृत्व सरकारमा आएदेखि नै आर्थिक अनियमितता बढ्दै गयो,’ भट्टराईले फेसबुकमा लेखेका छन् । भट्टराईका अनुसार सरकारमा रहँदा माओवादीले कानुनी सुधार नगरेको, अनुगमन कमजोर पारेको र भ्रष्ट नेताहरूलाई जोगाउने काम गरेको छ ।
भट्टराईले माओवादी सांसद माधव सापकोटाको नैतिकताको प्रश्न उठाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजनीतिबाट संन्यास लिन आग्रह गरेका छन् । ‘यदि माधव सापकोटाले नैतिकताको कुरा उठाउने हो भने, पहिला प्रचण्ड स्वयंले नैतिक जिम्मेवारी लिएर राजनीतिबाट संन्यास लिनुपर्छ ।’ भट्टराईले भने ।
नेता भट्टराईले माओवादीकै कारण नेपाल भ्रष्टाचारको अखडा बनेको र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको नजरमा अस्वच्छ देखिएको उल्लेख गरेका छन् ।
भट्टराईले फेसबुकमा लेखेका छन्–








प्रतिक्रिया