
-प्यार अलि खान
काठमाडौं, ७ फागुन । निर्माण व्यवसायी संघ प्यूठानको नयाँ नेतृत्वको लागि आज हुने भनिएको निर्वाचन प्रक्रिया सरेको छ।
चैत्र महिनाको दोस्रो साता भित्र नयाँ नेतृत्व चयनको प्रक्रिया सम्पन्न गर्ने निर्णय भएको संघका द्वितीय उपाध्यक्ष शोभाराम न्यौपानेले जानकारी दिए। नेतृत्व चयनमा सर्वसम्मतको प्रयास असफल भएसंगै चुनाव सरेको हो। वर्तमान अध्यक्ष नविन कुमार श्रेष्ठ तथा द्वितीय उपाध्यक्ष शोभाराम न्यौपानेले अध्यक्षमा दाबी गर्दै आएका छन्।
निर्माण व्यवसायीको हक हित तथा अधिकारको रक्षा गर्दै उनीहरूको व्यतिगत जीवन उकास्नका लागि आफु पुनस्अध्यक्षमा दोहोरिन चाहेको श्रेष्ठले जिकिर गरे।
‘पहिलो कार्यकाल संघको बृहत्तर हितका लागि काम गरियो, श्रेष्ठले भने, ‘अबको कार्यकालमा हाम्रा निर्माण व्यवसायीको लागि काम गर्न चाहान्छु।’
प्रदेश तथा केन्द्रमा भएको पहुँचलाई जिल्लामा रहेका स्थानीय निर्माण व्यवसायीको भविष्य तथा उनीहरूको आर्थिक सशक्तिकरणमा योजनाबद्ध तवरले लागि पर्नका लागि उम्मेद्वारी रहेको श्रेष्ठले दाबी गरे।
उता संघका द्वितीय उपाध्यक्ष शोभाराम न्यौपानेले संघमा नेतृत्व हस्तान्तरण जरुरी रहेको बातए। संघमा महासचिव तथा उपाध्यक्ष भैसकेको अनुभवका आधारमा अध्यक्षमा दाबी रहनु स्वभाविक रहेको न्यौपानेले बताए । सर्वसम्मतका नाममा दोहोरिने कुरालाई समर्थन गर्न नसकिने उनको भनाई छ।
सहमतिमा नेतृत्व चयन हुन नसके खुला प्रजातान्त्रिक परिपाटी निर्वाचन प्रक्रिया अवलम्बन गर्नुपर्नेमा न्यौपानेले जोड दिए। मंगलबार देखि सुरु भएको अधिवेशनको उद्दघाटन महासंघका केन्द्रिय अध्यक्ष रवि सिंहले गरेका थिए। आज बुधबार संघको सभाहल विजुवारमा बन्द सत्र तथा निर्वाचनको कार्यक्रम सम्पन्न गर्ने बताइएको थियो।
सर्वसम्मत नेतृत्व चयनका लागि सबैको साझा पहल आवश्यक रहेको संघका साधारण सदस्य मुकेश थापाले बताए।









प्रतिक्रिया