२७ असार २०८३, शनिबार

केही सांसदको ध्यान भाइरल हुन र स्टन्टबाजी गर्नमा छ : सूर्य थापा

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । नेकपा (एमाले) का पोलिट्ब्यूरो सदस्य एवम् सांसद सूर्यबहादुर थापाले केही सांसद भाइरल हुन र स्टन्टबाजी गर्नमा केन्द्रीत रहेका टिप्पणी गरेका छन् ।

आजको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले केही सांसदको ध्यान कानुन निर्माणमा भन्दा भाइरल हुनेमा रहेको बताएका हुन् । सरकारले ल्याएको अध्यादेशमा अनावश्यक विरोध भइरहेको उनको भनाइ छ ।

उनले भने, ‘हामी कानुन निर्माणको कुराभन्दा कसरी स्टन्टबाजी गर्ने र कसरी भाइरल हुने अनि चर्चामा आउने भन्ने कुरामा केन्द्रित भएको महसुस गरेका छौँ ।’ सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकका प्रावधान संकुचित नरहेको उनले स्पष्ट पार्दै अध्यादेशको प्रक्रियामा विरोध होइन, कन्टेटमा छलफल गर्न आग्रह गरे ।

मुलुकको आर्थिक समृद्धि र सुशासन कायम गर्न सरकारले अध्यादेश ल्याएको भन्दै अध्यादेशको विषयमा अनावश्यक विरोध भइरहेको उनले बताए । सरकारले ल्याएको अध्यादेशप्रति सरोकारवाला निकाय खुसी देखिए पनि केही सांसदमा खुसी नदेखिएको उनले जिकिर गरे ।

मुलुकको हितमा ल्याइएको अध्यादेशको विरोध गर्नु बेकार रहेको उनको भनाइ छ । थापाले संसद् नचलेका बेला अध्यादेशबाटै कानुन निर्माण गर्नुपर्ने भन्दै अहिले अध्यादेशको विरोध गर्नेहरू भोलि सरकारमा जाँदा यसरी नै अध्यादेश ल्याउने बताए

। यस्तै उनले अहिले विरोधका लागि सरकारको विरोध मात्रै गरिरहेको भन्दै यसअघि सरकारमा रहँदा चुप बसेकामा अहिले प्रतिपक्षमा पुगेपछि चुलबुल गरिरहेका टिप्पणी गरे ।

उनले भने, ‘काण्डहरू उचाल्ने मुख सत्तापक्षमा हुँदा चुपचाप रहन्छन् वा सरकार सञ्चालन गरिरहँदा मौन बस्छन् । विपक्षमा पुग्दा चुलबुल गरिरहेको पाइन्छ । २० महिनासम्म देशमा कुनै काण्ड र भ्रष्टाचार थिएनजस्तो गरेर बोल्ने, मानौँ रामराज्य नै थियोजस्तो गर्ने मुखहरू अहिले बढी सक्रिय भएको पाइन्छ,’ उनले भने, ‘ती काण्ड त्यतिबेला पर्दाभित्र राखिएका थिए, बोलिएका थिएनन् । स्वार्थमा सौदाबाजी गरिएका थिए कि के थिए ? छानबिन कहाँ भएका थिए ? म सोध्न चाहन्छु, यति, ओम्नी केके भन्नुहुन्छ, २० महिनासम्म कहाँ छानबिन गरियो रु आज बलपूर्वक भन्नुस् वा अनिच्छावश भन्नुस्, सरकारबाट बाहिरिनुपर्दा ती फेरि जमजमाउन थालेका छन् ।’

सांसद थापाले भारतमा नेपाली विद्यार्थीमाथि भएको घटनाप्रति छानबिन हुनुपर्ने माग पनि गरेका छन् ।