२८ असार २०८३, आइतबार

नेपाल अब सुरुङ मार्ग र पानी जहाजको युगमा प्रवेश गरिसक्यो : प्रधानमन्त्री

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब सुरुङ मार्ग र पानी जहाजको युगमा प्रवेश गरिसकेको बताएका छन् ।

सोमबार दाङको घोराहीमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देउखुरीमा पनि सुरुङ मार्ग बनाउने आफ्नो योजना रहेको बताएका हुन् । ‘पहिला मैले सुरुङका कुरा गर्दा धेरैले गिज्याए, रेलका कुरा गर्दा धेरैले गिज्याए, अहिले जनकपुरमा त रेल चलिरहेको छ, त्यो विस्तार हुँदै छ, पानी जहाजका कुरा गर्दा धेरैले जिस्क्याए, अब नारायणी नदीबाट  तपाईँहरू जलयात्रा सुरु गर्न सक्नुहुन्छ, त्यसलाई गङ्गासम्म लैजान सक्नु हुन्छ, त्यहाँबाट बङ्गाल जान सक्नुहुन्छ’, उनले भने ।

ओलीले यही वर्षको चैत महिना भित्र केही आरक्षण भित्र बाहेक सम्पन्न हुने जानकारी दिए । त्यस्तै पुष्पलाल मार्ग, मदन भण्डारी मार्ग निर्माणको काम पनि चलिरहेका प्रधामन्त्रीको भनाइ छ । उनले एमालेको नेतृत्वले मात्र देश विकास गर्न सक्ने बताउँदै शंकर पोखरेललाई चुनाव जिताएर नपठाउँदा विकासको अभियान अघि बढाउन आफूलाई केही समस्या भएको बताएका थिए । ओलीले अब हाइ काढेर बस्ने होइन, सक्रियता देखाएर मिसन २०८४ सफल गर्न निर्देशन दिए ।

‘हामी अलमल नगरी मिसन २०८४ तर्फ लाग्नु पर्छ, तपाईँहरूको साथ चाहिन्छ, देश बदल्ने कामको अगुवाइ गर्ने जिम्मा मेरो हो, कसैले पनि यो अभियानलाई रोक्न सक्दैन’, उनले भने ।

माओवादीका अध्यक्ष प्रचण्ड अहिले आत्तिएर बोल्ने नबोल्ने सबै कुरा बोल्न लागेका उनले बताए । अहिलेको सरकार देशमा स्थिरता ल्याउन बनेकाले यो सरकार ढल्छ भन्दै बरबराएर नहिँड्न उनले प्रचण्डलाई आग्रह गरे । अहिलेको सरकार, शान्ति, स्थायित्व, विकास, गरिबी निवारण लगायतका उद्देश्यले बनेकोले सोही कुरालाई मूल उद्देश्य बनाएर काम गर्ने उनले स्पष्ट पारेका छन् ।

सामाजिक एकता, सद्भाव र राष्ट्रिय एकता कायम गर्दै राष्ट्रलाई अगाडि बढाउन आफूले सरकारको नेतृत्व गरेको उनले बताए । समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षा पूरा गर्न आफ्नो नेतृत्वको सरकार केन्द्रित भएको ओलीले स्पष्ट पारे । नेकपा एमाले कोही नेपाली पछि नपरोस् भन्ने गन्तव्यको साथ अघि बढेको उनले बताए । एमालेको विरुद्ध विभिन्न हल्ला गरिएको भन्दै उनले त्यस्तो हल्लाको पछाडि लाग्नु नहुने बताएका हुन् ।

लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा लागेकालाई राजासँग मिलेर मास्छौँ भनेर हिँडेकाहरू अहिले बाध्यताले लोकतन्त्रसँग सम्झौता गर्न आएका र उनीहरू नै लोकतन्त्रका मसिहा बनेका भन्दै ओलीले आलोचना गरे । माओवादीले तत्कालीन राजा ज्ञानेन्द्रसँग लोकतन्त्र मास्ने र प्रचण्ड प्रधानमन्त्री बन्ने गरी सम्झौता गरेको ओलीको भनाइ छ ।

‘त्यस्ता मान्छेले हामीलाई लोकतन्त्रको दुहाइ दिने’, उनले भने । ओलीले प्रचण्डलाई बकवास चलाएर नहिँड्न आग्रह गरे । त्यसै गरी हिँड्ने हो भने प्रचण्डका धेरै षडयन्त्रको पर्दाफास गरिदिने उहाँले चेतावनी दिनुभयो । ‘यहाँका धेरै कुराका षडयन्त्रहरूको पर्दाफास गर्नु नपरोस्’, उनले भने । कसैले कमाएको देख्नु नहुन, कसैले राम्रो गरेको देख्नै नहुने, लुटिहाल्नु पर्ने, कुटिहाल्नु पर्ने, जे भेट्यो त्यही झ्वाम पार्नेहरू भ्रष्टाचार विरुद्धका अभियन्ता भएका भन्दै ओलीले कटाक्ष गरे । ‘नाटक गरेको कि साँच्चैको कुरा गरेको यो ?’, उनले प्रश्न गरे ।

ओलीले नयाँ भनिएका दलहरू पनि चटके भएका बताए । उनीहरूलाई एमालेका विरुद्ध अनर्गल प्रचारमा नलाग्न उनीहरूलाई पनि चेतावनी दिए । एमाले हरेक ठाउँमा एक्लै लड्दै आएको र लड्न सक्ने बताउँदै उनले अहिले देशमा अलि असहज स्थिति बनेकोले एमाले कांग्रेससँग मिलेर सरकारमा गएको ओलीले स्पष्ट पारे ।

देशको विकासका लागि, देशमा न्याय स्थापनाका लागि एमाले नेतृत्वमा सरकार बनेको उनले स्पष्ट पारेका छन् । सरकारले देश विकासका लागि ल्याएको अध्यादेश पास गरेरै छाड्न पनि उनले बताए ।