
काठमाडौं, ४ फागुन । सरकारले जारी गरेका ६ वटा अध्यादेश अझै एक साता संसद्मा पेस नगरिने भएको छ । फागुन ६ गते संघीय संसद्का दुवै सदनमा अध्यादेश पेस गर्ने सरकारको तयारी थियो । तर सांसदहरू राजधानी बाहिर भएकाले फागुन ११ गतेसम्म अध्यादेश संसद्मा पेस नगरिने भएको हो । सत्ता पक्षले भूमिसम्बन्धी अध्यादेशबाहेक पाँचवटा अध्यादेश संसदबाट पारित गर्ने तयारी गरेको छ ।
सत्तापक्षका प्रमुख सचेतकहरुको बैठकले संसदमा विचाराधीन विधेयकलाई छिटो पारित गर्नेगरी अघि बढ्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा बसेको बैठकले निर्णय गरेको हो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले संसद्मा विचाराधीन विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको बताए । एमालेका प्रमुख सचेतकसमेत रहेका बर्तौलाले विगतका चारवटा अधिवेशनमा पास भएकोभन्दा बढी विधेयक यस अधिवेशनबाट पारित गर्नेगरी अघि बढ्नुपर्नेमा सत्तापक्षका प्रमुख सचेतकहरुले जोड दिएको बताए । विद्यालय शिक्षा विधेयक र निजामती कर्मचारी विधेयकलाई चालू अधिवेशनबाट पारित गर्नेगरी अघि बढ्ने कुरामा सत्तापक्ष एक भएको उनको भनाइ छ ।
‘संसद्मा कतिपय विचाराधीन विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भयो । संसदमा पेश भएका अध्यादेशका सन्दर्भमा पनि केही छलफलहरु भए । आगामी कुन बैठकमा यसलाई कार्यसूचीमा लैजान सकिन्छ, त्यो विषयमा पनि छलफल गरेका छौँ । यो हाउसमा विचाराधीन भएका कैयौँ महत्वपूर्ण विधेयकहरु छन् । बाहिर सार्वजनिक टिप्पणीहरु र बहसका विषय पनि छन् । अहिलेको अधिवेशन विधेयक अधिवेशन हो,’ उनले भने ।
कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सत्ता पक्षका प्रमुख सचेतकहरुको बैठकले संसद्मा विचाराधीन विधेयकहरु छिटो पारित गरी कानुनी रुप दिने र आउने विधेयकलाई पनि छिटो पारित गर्नेगरी प्रक्रिया अघि बढाउने बारेमा छलफल भएको बताए । उनले विधेयक पारित गर्ने प्रक्रिया सुस्त भएकोप्रति आफूहरु पनि चिन्तित रहेको उल्लेख गर्दै अब तीव्रता दिने निर्णय भएको बताए । चालु अधिवेशनबाटै विद्यालय शिक्षा विधेयक र निजामती कर्मचारी विधेयकलाई पारित गर्नेगरी अघि बढ्ने निस्कर्षमा आफूहरु पुगेको जानकारी दिए ।















प्रतिक्रिया