१३ असार २०८३, शनिबार

पोखरा घटना : फायर मेसिन र ग्यास भरिएको बेलुनले निम्त्याएको दुर्घटना

8.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । २० लाख आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष्य राख्दै शनिबार अपराह्न कास्कीस्थित पोखराको प्रदर्शनी केन्द्रमा ‘पोखरा भ्रमण वर्ष’ घोषणा समारोह हुँदै थियो ।

समारोह उद्घाटन र भ्रमण वर्ष घोषणा कार्यक्रमका प्रमुख अतिथि थिए, नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल । पौडेललाई भ्रमण वर्ष आयोजक पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सघाउँदै थिए ।उद्घोषककै आग्रहमा अर्थमन्त्री पौडेल र मेयर आचार्य मञ्चको अगाडि उभिएर भ्रमण वर्ष उद्घाटन र लोगो अनावरण गर्न खोज्दै थिए । प्रविधिको नाममा स्टेजमा जताततै आगोको लप्का छाड्ने ‘फायर मेसिन’ चलाइएको थियो । त्यसैको नजिक अति प्रज्वलनशील हाइड्रोजन ग्यास भरिएको बेलुनको दुई ठूला झुप्पा नचाइँदै थियो । फायर मेसिनले फालिरहेको आगोको झिल्का र त्यसै नजिक नचाइँदै गरिएको हाइड्रोजन बेलुनका झुप्पा घर्षण हुँदा आगो बलेको थियो ।

मञ्चभन्दा तल रहेका सहयोगीले मन्त्री पौडेल र मेयर आचार्यलाई अति प्रज्वलनशील हाइड्रोजन भरिएको बेलुको एक–एक झुप्पा दिए । मन्त्री र मेयर उभिएको मञ्चको दायाँ–बायाँ, अघि–पछि चारैतिर फायर मेसिन राख्दा घटना भएको अनुमान गरिएको छ ।

भ्रमण वर्षको लोगो झुण्ड्याएर आकाशतिर उडाउन मन्त्री र मेयरले हातमा लिएको हाइड्रोजनले भरिएको बेलुन विस्फोट भएपछि कार्यक्रम स्थलमा होहल्ला भएको थियो । मन्त्री पौडेल र मेयर आचार्यको अनुहारमै तीव्र गतिको ठूलो ज्वाला परेको थियो ।

मेयर धनराज आचार्य

विज्ञान र प्रविधिले निम्त्याउन सक्ने जोखिमका बारेमा ख्याल नगर्दा साथै सुरक्षा असावधानीयुक्त मञ्चका कारण मन्त्री र मेयरलगायत अन्य व्यक्तिहरु घाइते भएका थिए ।

आगोको ज्वालाबाट घाइते मेयर आचार्यलाई सुरक्षाकर्मी समेतले उद्दार गरी पोखरास्थित फिस्टेल अस्पताल पुर्‍याएका थिए । अनुहार र हात जलेर घाइते भएका उपप्रधानमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पुर्‍याइएको थियो ।

पोखरामा प्राथमिक उपचार गरेका चिकित्सकहरूले दुवैलाई तुरुन्त बर्न अस्पतालमा पुग्न सुझाए । फिस्टेल एअरको हेलिकप्टरमा राखेर दुवै जनालाई काठमाडौं ल्याइएको थियो । दुवै जनाको कीर्तिपुरस्थित बर्न अस्पताल उपचार भइरहेको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल

चिकित्सकहरुका अनुसार आगोले छाला पोल्ने बित्तिकै समयमै उपचार गरे ठिक हुने तर उपचारमा ढिलाई गरे छालामा दाग बस्ने, संक्रमण हुने र बिरामीको मृत्युसमेत हुनसक्छ ।

आगोले छाला पोल्ने बित्तिकै सबैभन्दा पहिले के गर्ने ?

१) सबैभन्दा पहिले पोलेको भाग चिसो बनाउनुपर्छ ।
२) तापक्रमले झन् खराब गर्ने भएकाले आइस लगाएर वा पानीले भिजाएर भएपनि चिसो बनाउनुपर्छ ।
३) पोलेको भाग चिसो बनाउँदा थप क्षति हुन पाउँदैन ।
४) गाउँघरमा पाइने घ्यूकुमारी लगाउँदा पनि पोलेको भागमा सितल प्रदान गर्छ ।
५) पोलाइ गहिराई छ भने घरेलु उपचारमा अल्झिनु हुँदैन । अस्पताल नै जानुपर्छ ।

जलनको प्राथमिक उपचार के हुन्छ ?

१) सबैभन्दा पहिले आगोले छाला कत्तिको गहिराई र भाग पोलेको छ भनेर विचार गर्नुपर्छ ।
२) छालाको धेरै भाग पालेको छैन भने चिसो लगाउने या पानीले सफा गरेर एन्टीबायोटिक क्रिम लगाउन सकिन्छ ।
३) तर धेरै गहिरो र धेरै भाग आगोले पोलेको छ भने घरमा उपचार गर्नुभन्दा सकेसम्म छिटो स्वास्थ्य संस्था जानुपर्छ ।
४) आगोले धेरै नै पोलेको छ भने शरीरमा पानीको मात्रा कम हुने, सोडियम, पोटासियम कम हुने र संक्रमण हुने सम्भावना बढ्छ ।
५) पोलाई गहिरो छ तर समयमै उपचार भएन भने छालामा दाग बस्ने, छाला कस्सिने समस्या हुन्छ ।

पोलेको घाउको समयमै उपचार नगर्दा यसले निम्त्याउने जटिलताहरु के–के छन् ?

१) सतहमा रातो मात्र भएको छ कि पानीको फोका नै आएको छ भनेर हेर्नुपर्छ ।
२) पोलाइको गहिराई जति बढी छ त्यसले असर त्यति नै बढी हुन्छ ।
३) पानीको फोका आएर छालाको एक तह गयो भने संक्रमण हुने सम्भावना हुन्छ ।
४) पोलेको गहिराई र दुखाई बढी छ र समयमै उपचार पाएन भने बिरामीको मृत्यु समेत हुन सक्छ ।