
काठमाडौं, १ फागुन । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ प्रालिले प्रिमियम एसयूभी नयाँ टाटा सफारीे नेपाली अटो बजारमा सार्वजनिक गरेको छ । ७ सिट क्षमताको यस गाडी आरामदायी, उत्कृष्ट कार्यक्षमता र अत्याधुनिक प्रविधिको बेजोड सम्मिश्रण हो । शक्तिशालि एवं आकर्षक एसयूभी रुचाउने ग्राहकहरुलाई नयाँ सफारीले आकर्षित गर्ने कम्पनीले जनाएको छ ।
नयाँ टाटा सफारीको नेपालमा बिक्री वितरण बारे सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ भन्छन्, ‘हामी नेपाली बजारमा प्रिमियम फ्लैगशिप एसयूभी नयाँ सफारीको बिक्री वितरण गर्न पाउँदा अत्यन्त हर्षित भएका छौँ । ल्याण्ड रोभरको डिड प्लेटफर्ममा आधारित ओमेगाआर्क आर्किटेक्चरमा तयार पारिएको यस गाडीको डिजाईन कार्य क्षमताको दृष्टिकोणले उत्कृष्ट छ । नेपाली ग्राहकहरुको बदलिँदो आकांक्षा एवं जीवनशैलीसँग मेल खाने यस गाडी, लक्जरी ७ सिटर खोजिरहनु भएको ग्राहकहरुको पहिलो रोजाईमा पर्नेमा हामी विश्वस्त छौँ ।’
कम्पनीका अनुसार नयाँ टाटा सफारीमा डुअल–जोन पूर्ण स्वचालित एयर कन्डिसनिङ, मेमोरी र वेलकम सुविधा सहित ६ वटा तरिकाले समायोजन गर्न मिल्ने ड्राइभर सिट र अगाडि भेन्टिलेटेड सिट जस्ता विशेषताहरु उपलब्ध रहेका छन् ।
त्यसैगरी, टाटा सफारीको यस नयाँ मोडेलमा १२.३० इन्चको हर्मन टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ९ वटा जेबिएल स्पिकर (४ स्पिकर + ४ ट्वीटर + सबउफर), मुड लाइटिङसहितको भ्वाइस असिस्टेड प्यानोरामिक सनरूफ, र ११ वटा प्रमुख विशेषतासहितको एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टमलगायतका सुविधाहरु यस गाडीमा उपलब्ध छन् । सुरक्षामा ग्लोबल एनक्यापबाट ५ स्टार रेटिङ प्राप्त गरेको नयाँ टाटा सफारी नेपाली बाटोको लागि सुरक्षित रहेको सिप्रदीले जनाएको छ ।
यस्तै, ३६०°को सराउन्ड भ्यु सिस्टम, वायरलेस चार्जर, अटो होल्ड फिचर सहितको इलेक्ट्रोनिक पार्क ब्रेक, जेस्चर कन्ट्रोल्ड पावर्ड टेलगेट, ७ वटा एयरब्याग रहेको नयाँ टाटा सफारीको सुरुवाती मूल्य १ करोड २१ लाख ९९ हजार रुपैयाँ रहेको छ । सिप्रदीको नेपालभर रहेका टाटा मोटस्का शो–रुमहरुमार्फत नयाँ सफारी अवलोकन तथा टेस्ट ड्राइभको लागि उपलब्ध रहेको छ ।








प्रतिक्रिया