१६ असार २०८३, मंगलबार

नेपाल लाइफको २५औं वार्षिक साधारण सभा सम्पन्न

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सोमबार वीरगञ्जमा सम्पन्न भएको छ ।

अध्यक्ष संघईले प्रस्तुत गरेको आ.व.२०८०/८१ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरी पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व.२०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको छ । सभाले आ.व. २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ ।

साधारण सभाले आ.व. २०८०/८१ को वितरण योग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँको जम्मा २१.०५ प्रतिशतले हुन आउने रकम १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९५९ रुपैयाँ लाभांशको रुपमा प्रदान गर्ने जसमा १० प्रतिशत बोनस शेयर र ११.०५ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशको कर सहित) प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

अध्यक्ष संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरी अर्को सुनौलो यात्रा तर्फ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

२५औं वार्षिक साधारण सभामा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आ.व.२०८०/८१ मा आएका चुनौतीहरुलाई अवसरहरुमा परिणत गरी हासिल गरिएका व्यावसायिक उपलब्धी र भावी योजनाहरु बताए । देशको अर्थतन्त्र साथै व्यावसायिक क्षेत्र संकटान्मुख अवस्थामा रहेको परिस्थितिमा पनि यस कम्पनीले प्राप्त गरेका उपलब्धिहरूका लागि सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरे ।

२०८१ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी २१५ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष २०८ अर्ब रुपैयाँ र शेयरधनी कोष १२ अर्ब रुपैयाँ बढी रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल १ सय ९५ कार्यालय सञ्जालहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म २८८ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने ८४ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।