
काठमाडौं, २८ माघ । अर्बिट इनर्जी लिमिटेडले ५० लाख कित्ता शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित दरको ५० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु तथा सर्वसाधारणहरुका लागि निष्कासन गर्न लागेको हो ।
कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा अर्बिट इनर्जी लिमिटेडका तर्फबाट महाप्रबन्धक सुदिप खड्का र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
अर्बिट इनर्जीले संखुवासभाको सभापोखरी गाँउपालिकास्थित साभाखोलाको पानी सदुपयोग गरी सभा खोला ‘बी’ २१.५ मेगावाट र सभा खोला ‘सी’ ६.३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिब ५५ प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।
आयोजनामा भारतको फ्लोवेल इनर्जी प्राईभेट लिमिटेड तथा इटालीको ट्रोएर एजी कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल समाग्रीहरु जडान गरी अबको १ वर्षभित्र आयोजना सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ । आगामी दिनमा यस कम्पनीले अन्य आयोजनामा समेत लगानी गरी अगाडि बढ्ने योजना रहेको जनाएको छ ।









प्रतिक्रिया