२७ जेष्ठ २०८३, बुधबार

नागार्जुनका मेयर बस्नेतविरूद्व ८ करोड बढी गैरकानूनी सम्पत्ति कमाएको आरोपमा मुद्दा दायर

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बस्नेमाथि ८ करोड ६९ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको र त्यो रकम भ्रष्टाचारबाट कमाएको दाबी गरेको हो । अख्तियारको दाबी अनुसार, कुल २८ करोड ६५ लाख रुपैंयाको सम्पत्ति जोडेका बस्नेतले १९ करोड ९५ लाख रुपैयाँ मात्रै कानुनी रुपमा कमाएका थिए । अरु बाँकी रकम भ्रष्टाचारबाट आर्जन भएको अख्तियारको दाबी छ ।

यो अवधिमा उनले जग्गा खरिद, घर निर्माण एवं मर्मत, अपार्टमेन्ट खरिद लगायतका काम गरेको अख्तियारको दाबी छ । उनले विभिन्न व्यक्तिलाई जग्गा खरिद बिक्री गर्दा कमिसन बापत रकम दिएको, छोराहरुको विवाहको भोजमा गैरकानुन रुपमा खर्च गरेको अख्तियारको दाबी छ ।

उनले विवाहित छोरालाई व्यक्तिगत खर्च भनी रकम दिएको, विवाहित छोरीलाई पनि रकम दिएको, दान भनेर रकम दिएको अनि घरमा काम गर्ने सहयोगीहरूलाई पनि गैरकानुनी रुपमा आर्जित सम्पत्तिबाट खर्च दिएको अख्तियारको दाबी छ ।

उनी नागार्जुन नगरपालिकाको मेयर भएपछि अस्वभाविक रुपमा आर्जन हुने क्रम बढेको भन्दै अख्तियारले त्यसलाई ‘सार्वजनिक पदको दुरुपयोग’ भनेको हो । अख्तियारले लुकाएको र व्यवस्थापन गरेको सम्पत्ति जफत गर्न उनकी पत्नी उर्मिला बस्नेतमाथि पनि मुद्दा दायर गरेको छ ।

नागार्जुनका मेयर बस्नेतमाथि यसअघि नै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । गैरकानुनी रुपमा प्लटिङको काममा लागेको अनि नगरपालिकाको स्रोतसाधन दुरुपयोग गरी प्लटिङबाट लाभ लिएको भनी अख्तियारले उनीमाथि दायर गरेको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।