
काठमाडौं, २७ माघ । ललितपुरबाट अपहरणमा परेका चार वर्षीय बालकलाई प्रहरीले उद्धार गरेको छ । कलंकीको होटलबाट उद्धार गरिएका बालकलाई पञ्जाल लैजाने तयारी रहेको खुलेको छ ।
अपहरण आरोपमा पक्राउ परेका भियतनामी नागरिक मि हाङ किन्हालुनमाथि अनुसन्धान गर्दा उक्त विषय खुलेको एक अनुसन्धान अधिकृतले बताए । त्यसका लागि बसको टिकट समेत काटिएको र पञ्जाबमा राख्ने व्यवस्था समेत पाइएको प्रहरीको भनाइ छ ।
ललितपुर महानगरपालिका-१२ पाटन बस्ने चेपाङ थरका चार वर्षीय बालकको २४ माघमा अपहरणमा परेका थिए । राति ८ बजेर २० मिनेट जाँदा ती बालकलाई हराएको भन्दै उनकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।
अपहरण गरेर ती बालकलाई कलंकीस्थित इलाम मेची गेस्ट हाउसमा बन्धक बनाइएको अवस्थामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको थियो । अपहरण आरोपमा पक्राउ परेका २३ वर्षीय नागरिक भियतनामको चाइवाङ सिटीका उनी २७ डिसेम्बर २०२३ मा नेपाल आएको प्रहरीको भनाइ छ । ११ दिन नेपाल बसेपछि उनी भारतको नयाँ दिल्ली गएका थिए ।
२७ अप्रिल २०२४ मा भारतको पञ्जाबबाट सडकमार्ग हुँदै पुन नेपाल आएर बसोबास गरेको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बतायो । पक्राउ परेका भियतनामी नागरिकले भने बालकलाई वीरगञ्ज हुँदै पञ्जाबसम्म लैजान लागेको पाइएको एक अनुसन्धान अधिकृतले बताए ।








प्रतिक्रिया