१० असार २०८३, बुधबार

प्रणय दिवसमा सौराहामा खाना महोत्सव

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चितवनको पर्यटकीय क्षेत्र सौराहामा खाना महोत्सव हुने भएको छ ।

‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको अवसर पारेर रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) सौराहा चितवनको आयोजनामा यही माघ २९ देखि आगामी फागुन ३ गतेसम्म १९औँ संस्करणको महोत्सव हुन लागेको हो ।

पर्यटन प्रवर्द्धनका साथै खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर महोत्सव गर्न लागिएको रेवान चितवनका अध्यक्ष ध्रुव गिरीले बताए । महोत्सवमा ९० लाख रुपैयाँ अनुमानित खर्च हुने र कार्यक्रम अवधिभर झण्डै तीन करोडको कारोबार हुने आयोजकले जनाएको छ । दैनिक पाँच हजार पर्यटकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रणय दिवसको अवसर पारेर हरेक वर्ष सौराहामा खाना महोत्सव हुँदै आएको छ । महोत्सवमा विभिन्न जातजातिका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन, स्थानीय कला, संस्कृति, वेशभूषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यका रूपमा सौराहालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउने उद्देश्यले महोत्सव आयोजना गर्ने गरिएको अध्यक्ष गिरीले उल्लेख गरे ।

महोत्सवका कारण सौराहाको पर्यटक आगमन ४० प्रतिशतले वृद्धि हुने बताउँदै अध्यक्ष गिरीले महोत्सवबाट भएको मुनाफा सौराहाको विकासमा लगानी गरिने बताए ।

महोत्सव अवधिभर सौराहाका व्यवसायीले आवास र खानामा १० प्रतिशत छुट सुविधासमेत सार्वजनिक गरेका छन् ।