२० असार २०८३, शनिबार

युनुस सरकारको आलोचना गर्ने बंगलादेशी अभिनेत्री पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ढाका, २५ माघ । बंगलादेशी अभिनेत्री मेहर अफरोज शाओन पक्राउ परेकी छन् । ढाका ट्रिब्यूनका अनुसार उनलाई ‘राज्यविरुद्ध षड्यन्त्र’ अर्थात् कथित देशद्रोहको आरोप लगाइएको छ । उनलाई ढाका महानगरीय प्रहरी परिसरको गुप्तचर शाखाले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

प्रहरी अतिरिक्त आयुक्त (डीबी) रेजाउल करीम मलिकले भने, ‘उनीलाई बिहीबार राति धानमण्डीबाट पक्राउ गरिएको थियो । उनलाई देशद्रोहको षड्यन्त्रमा संलग्न भएको आरोप लगाइएको छ । आरोपको सम्बन्धमा सोधपुछका लागि हिरासतमा राखिएको छ ।’

मेहर अफरोज जमालपुर जिल्लाका अवामी लिगका पूर्वसल्लाहकार परिषद् सदस्य मोहम्मद अली र १९९६ मा अवामी लिगका सांसद तहुरा अलीकी छोरी हुन् । मोहम्मद अलीले गत निर्वाचनमा जमालपुर–५ (सदर) सिटबाट टिकट मागेका थिए ।

अभिनेत्री शानलाई जमालपुर सदर उपजिल्लाको नरुन्दी रेलवे स्टेशन क्षेत्रमा उनको बुबाको घरबाट पक्राउ गरिएको थियो । उनलाई साँझ ६ः३० बजे पक्राउ गरिएको हो । उनी पक्राउ परेको केही समयअघि जमालपुरमा उनको परिवारमाथि आक्रमण भएको थियो र उनको घर पनि जलाइएको थियो ।

बंगलादेशमा मोहम्मद युनुसको सरकार सत्तामा आएदेखि नै विपक्षीलाई पक्राउ गरिँदै आएको छ । बंगलादेशमा मेहर फिल्मी जगतका ती अभिनेत्री हुन्, जसले खुलेर आफ्नो बयान दिन्छिन् । यही नै उनको गिरफ्तारीको कारण बनेको स्थानीयले बताएका छन् ।

समाचार अनुसार मोहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशको अन्तरिम सरकारको आलोचना गरेको कारण उनीमाथि देशद्रोहको आरोप लगाइएको छ ।