
काठमाडौं, २५ माघ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बारम्बार बोली फेर्ने प्रवृत्ति यस पटक पनि देखिएको बताएका छन् । प्रचण्डले बिहीबार प्रतिनिधि सभा बैठकमा बोलेको विषयलाई लिएर महासचिव पोखरेलले प्रचण्डको सत्तामा रहँदा एउटा र बाहिरा हुँदा अर्को बोल्ने प्रवृत्ति यस पटक पनि देखिएको उल्लेख गरेका हुन् ।
‘सामाजिक सञ्जाल नियमनको आवश्यकता बोध गरेर वर्तमान सरकारले संसदमा दर्ता गरेको विधेयकका सन्दर्भमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभाको बैठकमा दिएको अभिव्यक्ति सुन्दा ६ महिना पहिले प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल प्रचण्ड र अहिले विपक्षी दलको नेता रहेका प्रचण्ड एउटै हुन् कि फरक हुन् भन्ने गम्भीर आशंका उत्पन्न गराएको छ’, सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेखेका छन् ।
विगतमा आफू प्रधानमन्त्री भएका बेलामा दुरुपयोग भयो भनेर टिकटक नै बन्द गर्ने निर्णय गरेका प्रचण्डले टिकटक खोल्न अनुमति दिने सरकारलाई अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप लगाउनु दिउँसै रात पार्नु जस्तै भएको महासचिव पोखरेलले प्रतिक्रिया जनाएका छन् । ‘सोसल मिडियाको दुरुपयोग भयो भनेर सोसल मिडिया प्लेटफर्म नै बन्द गर्दा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने, अनि त्यसलाई सञ्चालन गर्न दिएर नियमन गर्न खोज्दा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने हुन्छ र ? अवश्य हुँदैन’, पोखरेलको धारणा छ ।
आफ्नै मान्यताका विपरीत प्रचण्डले सामाजिक सञ्जाल नियमनसम्बन्धी संसदमा दर्ता भएको विचाराधीन विधेयकका सन्दर्भमा दिएको असन्तुलित र विरोधाभाषी अभिव्यक्तिको अन्तर्य के होला ? भन्दै महासचिव पोखरेलले प्रश्न गरेका छन् ।
‘सत्ता गुमाउँदाको छटपटी मात्र कि अरू केही ?’, महासचिव पोखरेलको प्रश्न छ ।









प्रतिक्रिया