
काठमाडौं, २३ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक दर्ताका लागि नेपाल नआए चल्न नदिने चेतावनी दिएका छन् ।
आज एक कार्यक्रममा बोल्दै मन्त्री गुरूङले फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिबन्ध लगाउने बताएका हुन् । उनले भने, ‘हामीसँग अहिले दर्ता भएर, प्वाइन्ट अफ कन्टयाक्ट तोकेर बसेको आज टिकटक मात्रै छ । हामीले मेटालाई बोलाइरहेका छौँ, आउँछ, की आउँदैन, हेर्न बाँकी छ । आएन भने नेपालमा चल्न दिन्नौं ।’
सामाजिक सञ्जाल अराजक बन्दै गएको भन्दै उनले त्यसैलाई नियमन गर्न सामाजिक सञ्जाल विधेयक ल्याइएको उनको भनाइ छ ।
उनले भने‘हाम्रो सामाजिक सद्भाव जसले भत्काउँछ, त्यसलाई हामीले राखेकै छौँ । हाम्रो धार्मिक सहिष्णुता भत्काउनेलाई राखेका छौँ । त्यसलाई हामी रोक्न चाहन्छौँ, त्यसलाई हामी नियमन गर्न चाहन्छौँ । त्यसैले हामीलाई यो विधेयक चाहिएको हो ।’
उनले मनपरी लेख्ने, मनपरी गर्नेकुरा लोकतन्त्र नभएको भन्दै त्यसकै नियमनका लागि संसद्मा सामाजिक सञ्जाल सञ्चालन र नियमन गर्ने विधेयक पेश गरिएको बताए ।








प्रतिक्रिया