
लमजुङ, २१ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले वर्तमान सरकारले जनताको हितमा काम गरिरहेको बताएका छन् ।
लमजुङ मर्स्याङ्दी गाउँपालिका–८ मा रहेको सिमलचौर भूमिगत सिँचाइअन्तर्गत बोरिङ उद्घाटन गरेपछि मन्त्री गुरूङले सरकारले जनताको हितमा थुप्रै कदम चाल्दै गएको बताएका हुन् ।
बिग्रिएको र भत्किन लागेको मुलुकलाई सुधार्न दुई ठूला दल गठबन्धनमा आएकाले सरकार ढल्छ कि ढल्दैन भन्ने विषयमा चिन्ता नगर्न उनले आग्रह पनि गरे । यस्तै उनले गाउँको विकासको लागि कृषिमा आधुनिकीकरण गर्न जरूरी रहेको बताए । स्थानीयमा खेतीपाती र उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ ।
विगतका सरकारले देशमा अस्थीरता सिर्जना गरेको टिप्पणी गर्दै मन्त्री गुरुङले भने, ‘राजनीतिक अस्थिरताले गर्दा सरकारपिच्छे बजेट आए । राम्रोसँग राजस्व उठेन, खर्च हुन पनि सकेन, यी सबै समस्या समाधान गर्न अहिलेको सरकारले अभ्यास गरिरहेरको छ ।’ बर्खेपानीको भरमा खेती गर्नुपर्ने अवस्था अहिले बोरिङ आएपछि समाधान हुने मन्त्री गुरुङको भनाइ छ ।
वडा ८ का अध्यक्ष धनसिंह तामाङले पानीको अभावले थुप्रै खेतबारी बाँझै रहने गरेको उल्लेख गर्दै बोरिङ सञ्चालनमा आएपछि खेती गर्न सहज हुने विश्वास व्यक्त गरे ।








प्रतिक्रिया