
रामेछाप, १८ माघ । नेकपा (एमाले) रामेछापले पार्टी नेताहरूलाई प्रशिक्षित गर्न जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । पार्टी स्कुल विभाग वाग्मती प्रदेश कमिटीको संयोजन, जिल्ला स्कुल विभागको व्यवस्थापन र पार्टी जिल्ला कमिटीको आयोजनामा तीन दिने प्रशिक्षण कार्यक्रम शुक्रबारबाट सुरु भएको हो ।
एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षता तथा एमाले केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रममा पार्टीका प्रदेश कमिटी, जिल्ला कमिटी तथा गाउँपालिका कमिटीका नेताहरूको सहभागिता रहेको छ । कार्यक्रमको उपाध्यक्ष ज्ञवालीले दीप प्रज्वलन गरेर उद्घाटन गरेका हुन् ।

कार्यक्रममा एमाले केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य डा। राजन भट्टराई, डा। पुष्प कँडेल, संगठन विभाग सचिव माधव ढुङ्गेल, तत्त्व तिमल्सिना, रामशरण प्याकुरेल, भरत पहारी, सिर्जना काफ्ले, वाईपी आचार्य, नवराज सिलवाल, भक्तकुमारी लामा, शान्तिप्रसाद पौडेल, आनन्दकुमार श्रेष्ठ लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
कार्यक्रम आयोजनाको उद्देश्य बारे प्रकाश पार्दै नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले पठन पाठनका संस्कृति कम हुँदै गएको बताए । समाज रूपान्तरणको लागि अध्ययन नगरी अघि बढ्न नसकिने उनको भनाइ छ । त्यसैले एमालेले नेता कार्यकर्ताको बुझाइमा स्पष्टता होस् भनी प्रशिक्षण कार्यक्रम राखेको उनले बताए ।
विश्वव्यापी रूपमा धेरै बदलाव आएको बताउँदै उनले त्यसका ज्ञान एमालेका नेता कार्यकर्तामा हुनु पर्नेमा जोड दिए । ती घटनाक्रममा एमालेको साझा दृष्टिकोणका लागि पनि एमाले नेता कार्यकर्ता प्रशिक्षित हुन जरुरी रहेको कँडरियाले बताए ।
कार्यक्रमका सहभागीलाई एमाले रामेछापका उपाध्यक्ष होतराज ढकालले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको व्यवस्थापन बारे पार्टी उपसचिव मखमली श्रेष्ठले प्रष्ट पारेका थिए ।









प्रतिक्रिया