
बुटवल, १६ माघ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले देशमा संवेदनशिलता नअपनाउने हो भने कुनै पनि बेला दुर्घटना हुन सक्ने बताएका छन् ।
आज बुटवलमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारले ल्याएको सामाजिक सञ्जाल नियमनसम्बन्धी अध्यादेशबारे स्पष्ट पार्दै उपमहासचिव ज्ञवालीले अहिले पनि जातीय सद्भाव खल्बल्याउन मान्छेहरू लागिरहेको बताएका हुन् ।
राजनीतिक आलोचना हेट स्पिचमा नपर्ने बताउँदै उनले हेट स्पिच जाती, समुदाय, आस्था, धर्ममाथि गरिने घृणा भएको उनको भनाइ छ । भ्रामक सूचनाको बाढीले सही सूचना ओझेलमा परिरहेका बताउँदै उनले सही सूचनाको रक्षाका लागि रक्षा कवचको रूपमा सामाजिक सञ्जाल विधेयक ल्याएको स्पष्ट पारे । अध्यादेशले सही सूचनाको कर्म गर्नेलाई प्रभाव नपार्ने उनले बताएका छन् ।
यस्तै उनले देशमा स्थायित्वका लागि अहिलेको गठबन्धन बनेको र केही निराशा चिर्नेगरी सरकारले काम गरेको बताए । ‘यो सरकार बनेपछि केही देखिने उपलब्धि भएका छन्, राजश्व बढेको छ, विकास रोकिएका काम अघि बढेका छन्, आयात निर्यात बढेको छ’, उनले भने ।
यस्तै देशभर सरकारी पीडितलाई अहिलेको सरकार बनेपछि ठूलो रकम फिर्ता गराएको र अहिले पनि निरन्तर काम भएको उनको भनाइ छ । ‘सहकारीको बेथिति हटाएको छ, बचत फिर्ता गर्ने पहिलो प्राथमिकता छ। कानुन बमोजिम अघि बढेको छ सरकार । सबै दलमा रहेका आरोपितहरूमाथि छानविन भइरहेको छ’, उनले भने, ‘यसमा पूवाग्रह राख्नुपर्ने होइन । एमालेमाथि आरोप लगाइएको छ, एमालेको प्रतिस्पर्धा रास्वपा होइन, राम्रो गरे जनताले सम्मान गर्छन् यो समस्या गोर्खा मिडियामा हुँदाको हो दलसँगको होइन ।’
माओवादी र नेता प्रचण्डप्रति लक्षित गर्दै नेता ज्ञवालीले अस्थिरतामा रमाएर बस्ने व्यक्ति र पार्टीका कारण अहिलेको अवस्था आएको टिप्पणी गरे ।









प्रतिक्रिया