
काठमाडौं, १२ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति हुँदासम्म यो सरकारलाई कसैले हल्लाउन नसक्ने बताएका छन् ।
शनिबार लमजुङमा आयोजित कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले एमाले र कांग्रेस मिल्दा संसदमा अत्यधिक बहुमत पुग्ने भएकाले अरूका हल्लाले कुनै अर्थ नराख्ने बताए । ‘कुनै साना पार्टीले निहुँ खोजेर यो सरकार ढल्नेवाला छैन, यो सरका आगामी चुनावसम्म सहज ढङ्गले अघि बढ्छ, सरकार ढल्छ भन्ने हल्ला प्रतिपक्षमा बस्नेहरूले आफ्ना कार्यकर्तालाई सान्त्वना दिन गरेको हल्ला मात्र हो’, उनले भने ।
अहिलेको सरकाले बलियो सरकार भएकोले तत्काल केही नहुने उनले बताए । सरकार फेरिने कुने सम्भावना नरहेको गुरुङले प्रष्ट पारे । जब जब मुलुकमा सङ्कट पर्छ त्यति बेला कांग्रेस र एमाले मिलेका उनले स्मरण गराए । निर्दलीय व्यवस्था फाल्न होस् वा गणतन्त्र ल्याउन होस् सबै अप्ठेरा कालखण्डमा कांग्रेस एमाले मिलेका मन्त्री गुरुङले बताए । माओवादीको १० वर्षे द्वन्द्वको बेलमा धेरै मानिस मारिएका र दुःख पाएका कारण उनीहरूलाई शान्ति प्रक्रियामा ल्याउन पनि कांग्रेस र एमाले एक ठाउँमा उभिएका मन्त्री गुरुङले स्पष्ट पारे ।

अहिले अर्थतन्त्र तहसनहस भएकोले त्यसलाई ठिक ठाउँमा ल्याउन कांग्रेस र एमाले एक ठाउँमा उभिएका उनले बताए । अस्थिर सरकारको कारण मुलुकको अर्थतन्त्र तहसनहस भएको मन्त्री गुरुङले बताए । मुलुकको अस्थिरता अन्त्य गर्न दुई ठुला राजनीतिक दल एक ठाउँमा उभिनु परेको गुरुङले स्पष्ट पारे । प्रचण्ड नेतृत्वको सरकारले मुलुकको अर्थतन्त्रलाई ध्वस्त बनाउने काम गरेको उनले बताए । कमिसनखोरसँग सरकार मिलेर मुलुकलाई अस्तव्यस्त बनाउने काम गरिएको उनको भनाइ छ ।
पुराना नीति र ऐनका कारण अहिले पनि नागरिकले सहज सेवा पाउन नसकेका मन्त्री गुरुङले बताए । त्यसैले त्यस्ता नीति र ऐनलाई परिवर्तन गरी सुधार ल्याउन सरकारले अध्यादेश ल्याएको उनले स्पष्ट पारे ।
सहकारी ठगी प्रक्रियामा संलग्न सबैलाई कारबाही हुने पनि मन्त्री गुरुङले स्पष्ट पारे । यो कुनै एउटा व्यक्ति वा पार्टी विरुद्धको काम नभई नागरिकको सम्पत्ति सुरक्षाको काम भएको उनले बताए । त्यसैले न्यायालय वा सरकारलाई गाली गरेर कुनै पनि सहकारी ठग उम्कन नसक्ने उनले स्पष्ट पारे ।









प्रतिक्रिया