
धनगढी, ११ माघ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम पार्टीबाट निष्कासित भीम रावल र एमालेमा फर्कन लागेका बामदेव गौतमबारे टिप्पणी गरेका छन् ।
धनगढीमा रहेका पार्टी प्रचार विभाग प्रमुख गौतमले कार्यकर्ता भेटघाटमा भीम रावलको पार्टीप्रति प्रारम्भिक योगदानलाई सम्मान गर्दै हालको अवस्थालाई विस्तारमा व्याख्या गरेका हुन् ।
नेता गौतमका अनुसार, रावलले पार्टीको १०औँ महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि पार्टीसँगको सम्बन्ध कमजोर बनाउन थालेका थिए । पार्टीले उनलाई केन्द्रीय सल्लाहकारमा राख्न चाहेको थियो तर उनले त्यो स्वीकार गरेनन् र पार्टी सदस्यता नवीकरण समेत नगरेका गौतमले बताए ।
‘भीम रावलले पार्टीको निम्ति काम गर्नुभयो, पार्टीको झन्डा बोक्नुभो, उहाँले गर्नुभएको कामलाई सम्मान गरेका छौँ । तर उहाँले जुन दिनदेखि पार्टीको झन्डा बोक्नुभएन, पार्टी सदस्यता नवीकरण गर्नुभएन,’ नेता गौतमले भने, ‘खासगरी पार्टीको १०औँ महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि । उहाँलाई पार्टीको अध्यक्ष नउठ्नुस्, जित्ने स्थिति छैन्, उपाध्यक्ष बस्नुहोस् भन्दा मान्नुभएन । अध्यक्षमा प्रतिस्पर्धा गर्नुभयो, जित्न सक्नुभएन । त्यसपछि पार्टीमा निष्क्रिय रहनुभयो, पार्टी हित विपरीत गतिविधिमा लाग्नुभयो ।’
पार्टीको व्यवस्थामा पार्टीको केन्द्रीय पधाधिकारीमा जो पराजित हुन्छन् उसलाई केन्द्रीय सल्लाहकारमा राख्ने रहेको उनले जानकारी दिएका छन् । तर अध्यक्षमा हारेका रावलले सल्लाहकारको पनि शपथ लिएनन् र हुँदाहुँदै पार्टी सदस्यता पनि नवीकरण नगरेको उनको भनाइ छ । रावल पार्टी नियन्त्रणभन्दा बाहिर बसर पार्टी हित विपरीत गतिविधिमा लागेका उनले टिप्पणी गरे ।
नेता गौतमले पार्टीले रावललाई पटक–पटक सहजीकरण गर्न खोज्दा पनि उनले लिखित स्पष्टीकरण बुझ्न अस्वीकार गरेको र पार्टी कार्यालयमा आउन पनि इन्कार गरेको र त्यसपछि पार्टीले रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको गौतमले स्पष्ट पारे ।
‘भीम रावल आज पार्टीको लाइनमा हुनुहुन्न । पार्टी पंक्ति भित्र हुनुहुन्न । छुट्टै अभियान बनाएर नयाँ पार्टी बनाउँदै हुनहुन्छ । यसमा हामीले मात्रै चित्त दुखाएर हुँदैन, उहाँ पार्टीमै बसेर काम गर्न नचाएपछि’ नेता गौतमले भने, ‘अहिले पनि केही साथीहरुलाई के भ्रम छ भने भीम रावलमाथि अलिकति हेरिदिएको भए, कारबाही नगरिदिएको भए भन्ने छ, हिजोसँगै पार्टीको काममा हिँडेकालाई । उहाँ अहिले नयाँ यात्रामा हुनुहुन्छ, पार्टीमा हुनुहन्न । यसमा हामी सबै प्रष्ट हुनुपर्छ । भावना बग्नु हुन्न । पार्टी र देशको हितमा हाम्रो यात्रा अघि बढिरहनुपर्छ ।’
यसैगरी, नेता गौतमले बामदेव गौतमको दोहोरो चरित्र भूमिकामाथि पनि टिप्पणी गरे । उनका अनुसार, तत्कालीन समयमा बामदेव पार्टी विभाजनको एक प्रमुख कारण थिए ।
‘हिजो पार्टीले सबैभन्दा बढी दुःख पाएको कारण बामदेव गौतमको कारणले । उहाँ हिजो ठिक ठाउँमा उभिदिएको भए पार्टी विभाजन हुँदैनथ्यो, त्यो परिस्थित नै आउने थिएन’ गौतमले भने, ‘उहाँले नयाँ ठाउँ रोज्नुभयो, हुँदाहुँदै त्यो ठाउँ पनि छोड्नुभो, हुँदाहुँदै एकता अभियानमा जानुभयो । आज उहाँलाई के लाग्यो यसो र्फकेर हेर्दा त कोही छैन् साथीभाइहरु, एक्लै पो परिएँछ । र उहाँले पार्टी एमालेमा आउँछु भन्नुभो ।’
गौतमले बामदेव पार्टीमा फर्कने तयारी अन्तिम चरणमा रहेको जानकारी गराए । उनका अनुसार पार्टी बामदेवको एकता अभियानसँग सहकार्य गर्न तयार छ, तर बामदेवसँग भएका अभियानमा भएका नेता कार्यकर्ताहरूको विवरण पहिले बुझ्न चाहन्छ ।
गौतमका अनुसार पार्टीमा बोमदेवबारे छलफल भइरहेको छ । छलफलपछि बामदेव र उनका अभियानमा रहेकाहरूलाई एमालेमा समाहित हुन सक्नेछन् ।
‘बामदेव गौतमको नेतृत्वमा रहेको एकता अभियानसँग सहकार्य गर्दा उहाँसँग को, कहाँ, कति कार्यकर्ता छन्, उनीहरुको बारेमा पनि सोच्नुपर्ला नि भनेर पार्टीमा छलफल भइरहेको छ । यो विषयमा टुंगो लगाएपछि उहाँको अभियानमा रहेकाहरु एमालेमा समाहित हुन्छन् ।’ नेता गौतमले भने ।









प्रतिक्रिया