७ असार २०८३, आइतबार

‘जुनाः एक व्यथा’को गीत ‘आमाको मुहार’ सार्वजनिक

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । आगामी माघ २५ गतेबाट रिलिज हुने बहुप्रतिक्षारत फिल्म ‘जुनाः एक व्यथा’को गीत ‘आमाको मुहार’ सार्वजनिक भएको छ । गीतमा यदु राई लकान्द्रीको स्वर, जीवन सेन्चुरीको शब्द र रमेश सन्चुरीको संगीत, एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ ।

ओएसआर डिजिटलबाट सार्वजनिक गीतको भिडियोमा बाल विवाहपछि एक बालिकाको जीवनमा आइपर्ने उतारचढावलाई देखाइएको छ । विवाह गरेर गएपछि श्रीमानले दिने यातना, सासुको क्रुद्ध व्यवहारलाई गीतमा देखाइएको छ ।

गीत फिल्मकी मुख्य पात्र अस्मिता ढकाल वरपर घुमेको छ । भिडियोमा अस्मितासँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेतलगायतलाई समेटिएको छ । गीत जति मार्मिक छ, भिडियो उत्तिकै पीडादायी छ । गीतमा अस्मिताको अभिनय जीवन्त देख्न सकिन्छ ।

गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको फिल्मका निर्माता दीपकप्रसाद घिमिरे हुन् । निर्माता घिमिरेले बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले फिल्म निर्माण गरिएको बताए ।

फिल्मका निर्देशक जीवन सेञ्चुरी हुन् । उनले ‘जुनाः एक व्यथा’ एक ऐतिहासिक र विशिष्ट प्रकृतिको फिल्म रहेको बताए । ‘नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई यस फिल्मको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिएको छ’, निर्देशक सेञ्चुरीले भने ।

फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरा र खगेन्द्र न्यौपानेको अभिनय छ । पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदु राई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ । फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।

https://youtu.be/k7Yjb0yyn_Q