७ श्रावण २०८३, बिहिबार

सोह्र गुणा बढ्यो चिनी आयात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ ।  भारतबाट नेपालगन्ज हुँदै भित्रिने चिनीको आयात अत्यधिक बढेको छ । चालु आवमा तस्करी र अवैध आयातमा कडाइ गरिएकाले वैध आयात वृद्धि भएको नेपालगन्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८१र८२ को छ महिनामा नेपालगन्ज नाकाबाट चिनीसहित चामल, दाल र सुती कपडाको आयात घटेकोमा अहिले वस्तुको आयातमा उल्लेख्य वृद्धि भएको हो ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आव २०८० र ८१ को छ महिनामा ८४ लाख ७३ हजार रुपियाँको चिनी आयात भएकोमा चालु आवको सोही अवधिमा सोह्र गुणाले वृद्धि भई १४ करोड १२ लाख ९२ हजार रुपियाँको चिनी आयात भएको छ ।

गत आवको छ महिनामा चिनी आयातबाट ३९ लाख ८९ हजार रुपियाँ राजस्व सङ्कलन भएकोमा चालु आवको सोही अवधिमा छ करोड २३ लाख ७६ हजार रुपियाँ राजस्व सङ्कलन भएको पनि कार्यालयले जनाएको छ ।

चामल आयातबाट २५ करोड ९८ लाख २९ हजार रुपियाँ राजस्व सङ्कलन भएकोमा चालु आवमा ३० प्रतिशतले वृद्धि भई ३३ करोड ८१ लाख ९२ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।

दालको आयात पनि बढेर ८२ करोड १० लाख १५ हजार रुपियाँ पुगेको छ । गत आवको छ महिनामा यो नाकाबाट ७१ करोड ५५ लाख ५० हजार रुपियाँको दाल आयात भएको थियो । नेपालगन्ज नाकाबाट आयातमा वृद्धि भएका चिनी, चामल, दाल र सुती कपडा सबैभन्दा बढी अवैध आयात हुने सामानमा पर्छन् ।

सङ्घका वरिष्ठ उपाध्यक्ष चिरन्जीवी ओलीले अवैध आयात बढेपछि वैध आयात घट्ने गरेको जनाउँदै अहिले वैध आयात बढ्नुको अर्थ अवैध आयात घटेको नै मान्नुपर्ने बताउनुभयो । उहाँले त्यसका साथसाथै माग र खपत बढ्दा पनि आयात वृद्धि हुने गरेको बताउनुभयो ।