
काठमाडौं, ६ माघ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश कमिटीका इन्चार्ज शेरधन राईले नेपाली कांग्रेसका कोशी प्रदेश सभापति एवं पूर्वमुख्यमन्त्री उद्धव थापामाथि भएको आक्रमणको निन्दा र भत्र्सना गरेका छन् ।
आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता राईले हिजो थापामाथि भएको घटनाको भत्र्सना गर्नुका साथै दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।
पूर्वमुख्यमन्त्री राईले फेसबुकमा लेखेका छन्, ‘नेपाली कांग्रेसका प्रदेश सभापति एवं पूर्वमुख्यमन्त्री उद्वव थापामाथि हिजो भएको आक्रमणको निन्दा र भत्र्सना गर्दै घटनाको सत्य तथ्यसहित दोषीलाई कार्बाहीको लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु ।’
राईले घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै नेता राईले यस्ता घटनाहरूको पुनरावृत्ति नहोस् भन्ने आग्रह गरेका छन् ।
कांग्रेस नेता थापामाथि भएको आक्रमणले राजनीतिक क्षेत्रमा चासो र चिन्ता उत्पन्न गरेको छ । विभिन्न राजनीतिक दलका नेताहरूले घटनाको निन्दा गर्दै अराजक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न माग गरिरहेका छन् ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका थापामाथि हिजो झापाको कन्काई नगरपालिकाको सुरुङ्गा नजिक केही व्यक्तिले आक्रमण गरेका थिए । नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्किने क्रममा थापामाथि आक्रमण भएको थियो ।









प्रतिक्रिया