
काठमाडौं, ५ माघ । हाँस्य अभिनेता तथा मोडल सागर लम्साल ‘बले’ नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्यो’मा शुक्रबार अनुबन्धित भएका छन् ।
राजु गिरीको निर्देशनमा बन्ने फिल्ममा सागरले ३५ लाख रुपैयाँ पारिश्रमीक लिएका छन् । फिल्ममा उनी डल्ले नामक युवकको शीर्ष भूमिकामा प्रस्तुत हुँदैछन् ।
पछिल्लो समय दर्शकको रोजाइको अभिनेतामा पर्ने सागर विशेष गरी ‘सक्किगोनि’ सिरिजबाट निकै चर्चामा आएका हुन् । ‘लोफर’ फिल्मबाट ठूलो पर्दाको यात्रा थालेका उनले त्यसपछि ‘हैरान’लगायतका केही फिल्म तथा सयौं चर्चित म्युजिक भिडियोहरुमा अभिनय गरेका छन् । उनी प्रमुख एक अभिनयमा रहेको फिल्म ‘लाज शरणम’ १४ फागुनबाट विश्वव्यापी प्रदर्शनमा आउँदैछ ।
‘डल्लेले इन्ट्री मार्यो’मा सागरले लिएको पारिश्रमीक अहिलेसम्मकै उच्च हो । क्यारेक्टरमा फिट,कुशल अभिनय,चर्चित अनि बजारको माग हेरेर सागरलाई शीर्ष भूमिकामा लिइएको निर्देशक गिरी बताउँछन् ।
‘स्क्रिप्टको माग, उहाँको कलाकारिता तथा दर्शकमाझ उहाँको क्रेजको तुलनामा उहाँलाई दिइएको पारिश्रमीक कमै होजस्तो लाग्छ ।’ निर्देशक गिरीको भनाइ छ ।
सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको स्क्रिप्ट लेखन रहेको फिल्मको छायांकन फागुन अन्तिमबाट गरिने छ । सावित्रा चिलुवाल,निर्मता बस्नेत,आशिष र आदर्श बस्नेत निर्माता रहेको फिल्मका अन्य कलाकार तथा प्राबिधिक चयन कार्य भने केही सातामा टुङ्ग्याइने छ । उषा फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म सोसियल कमेडी जनरामा हुने बताइन्छ ।









प्रतिक्रिया