९ असार २०८३, मंगलबार

प्यूठानमा आगलागी नियन्त्रणका लागि कार्ययोजना तयार

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्यार अलि खान
प्यूठान, ४ माघ । प्यूठानमा आगलागी नियन्त्रण तथा न्यूनीकरणका लागि जोखिम न्यूनीकरण तथा प्रतिकार्य कार्ययोजना २०८१ तयार गरिएको छ।

जिल्ला प्रशासन कार्यालय प्यूठानको विशेष सक्रियतामा सरोकारवाला पक्षलाई राखी कार्ययोजना तयार गरिएको हो। गत वर्ष प्यूठानमा १ सय ६८ वटा आगलागीका घटना भएका थिए। गत वर्षको घटनाबाट पाठ सिक्दै यस वर्ष सम्भावित घटना हुन नदिन आगलागी नियन्त्रण तथा न्यूनीकरण गर्न कार्ययोजना निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुवेदी) ले जानकारी दिइन् ।

वडास्तरसम्म कार्यदल गठन गर्ने, पूर्व तयारी गर्ने, घटनाबारे सूचना आदानप्रदान गर्ने, नियन्त्रणका लागि तयारी अवस्थामा रहने, स्वयंसेवक परिचालन गर्ने, राहत सामग्रीको व्यवस्थापन लगायत विषय कार्ययोजनामा समेटिएको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाई छ।

कार्ययोजनाले घटना न्यूनीकरण गर्न सहयोग पुग्ने सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले विश्वास व्यक्त गरे। ४ सय ५१ वटा सामुदायिक वन, १ सय ८४ कबुलियती वन, ७ वटा निजी वन र १ वटा संरक्षित वन र सरकारी संरक्षित वन रहेको डिभिजन वन कार्यालय प्यूठानले जनाएको छ।

वन ऐन अनुसार आगलागीमा संलग्न दोषीलाई बिगो असुल सहित ६० हजार रुपैयाँ जरिवाना, ३ वर्ष कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ।