१६ कार्तिक २०८३, सोमबार

देशमा अहिले लगानीमैत्री वातावरण तयार भयो : शंकर पोखरेल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ३ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशमा अहिले लगानीमैत्री वातावरण तयार भएको बताएका छन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले बिहीबार दाङमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले देशको आर्थिक अवस्था पनि क्रमशः सुधार हुँदै गएको बताएका हुन् ।

पोखरेलले निजी क्षेत्रलाई आत्मविश्वासका साथ लगानी गर्न आग्रह गरे । मूल्यवृद्धि घटेको, बैंँकको ब्याजदर कम भएको, विदेशी मुद्रा सञ्चिति बढेको, राजस्व सङ्कलन सुधार भएको र अर्थतन्त्र उल्लेखनीय सुधार भएको पोखरेलको भनाइ छ । यस्तो अवस्थामा पनि व्यवसायीहरू अझै उत्साहित हुन नसकेका भन्दै उनले चिन्ता व्यक्त गरे ।

घोराही–तुलसीपुर सडक विस्तारको कामलाई सरकारले बजेट सुनिश्चित गरेर अघि बढाएको जानकारी दिँदै उनले फोर लेन सडक निर्माणको कामले उपलब्धि हासिल गर्दै अघि बढिरहेको जानकारी दिए । लमही–घोराही सडक विस्तारका लागि डिटेल प्रोजेक्ट रिपोर्ट तयार भइरहेको जानकारी दिँदै उनले आगामी आर्थिक वर्षमा यसको टेण्डर प्रक्रिया सुरु हुने बताए । मसोट खोला क्षेत्रमा वैकल्पिक मार्ग निर्माण गरी आउने र जाने दुईवटा पुल निर्माण गरिने योजना पनि उहाँले सुनाए । यसले व्यावसायिक क्षेत्रमा सहयोग गर्ने पोखरेलले धारणा राखे ।

टरीगाउँ विमानस्थलको धावनमार्ग विस्तारका लागि डिटेल प्रोजेक्ट रिपोर्ट तयार भइसकेको र विमानस्थललाई थप व्यवस्थित बनाउन मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाइरहेको उनको भनाइ छ । पोखरेलले दाङमा औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गा प्राप्तिको नीतिगत निर्णय मन्त्रिपरिषद्ले गरिसकेको उल्लेख गर्दै अब जग्गा नामसारीका लागि पहल गर्नुपर्ने र त्यसपछि डीपिआर निर्माण हुने जानकारी दिए ।

दाङमा इन्धन डिपो स्थापना गर्ने प्रक्रिया अघि बढेको र यसले पेट्रोल पम्पहरूले नेपालगन्जबाट इन्धन ल्याउनु पर्ने बाध्यता अन्त्य गर्ने पनि बताएका थिए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासलाई विशेष प्राथमिकता दिँदै शैक्षिक कार्यक्रम सुरु भएसँगै शिक्षा र स्वास्थ्य सेवामा ठूलो उपलब्धि प्राप्त भएको उनको भनाइ छ ।

उनले ४ सय शय्याको भवन निर्माण प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै केही वर्षभित्र प्रतिष्ठानले उल्लेखनीय सुधार गर्ने विश्वास व्यक्त गरे ।  भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानका लागि ल्याइएको अध्यादेशबारे चर्चा गर्दै उनले अध्यादेशले भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् । सार्वजनिक सेवा प्रभावकारी बनाउन र लगानी मैत्री वातावरण तयार गर्न सरकारले ठोस कदम चालेको बताए ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घोराही उपमहानगरपालिकाका मेयर नरूलाल चौधरी, संघका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठलगायतले बोलेका थिए ।