३१ जेष्ठ २०८३, आइतबार

एमाले नेता बास्कोटाको बुझाइमा आमा

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म शब्द–शिल्पकारी नै भएको भए पनि यसको प्रेरणास्रोत आमा नै हुनुहुन्छ । शिल्पज्ञान दिनुहुने पहिलो गुरु, पालनकर्ता र मायाको ओजस्वी स्रोत आमा हुनुहुन्छ । छलछाम बिनाको जीवन जिउन चाहिने शिक्षा-सिकाइसहित विकसित जीवनको मार्गदर्शक र पारिलो आस्थाकेन्द्र हुनुहुन्छ आमा । आमालाई कुनै शिल्पकारी शब्दमा बयान गर्नु भनेको छालउछाल बनेर लहरिने सागरलाई सानो गाग्रोमा अटाउन खोज्नुजस्तै मात्र हो रहेछ ! कहाँ अटाओस्– सन्तानको स्वास्थ्य, शिक्षादिक्षा र भविष्य निर्माणका लागि गरिएको भगिरथ प्रयत्नको प्रतिफलस्वरुप विकसित अंश ! ।

अहिले कुनै रापताप र सन्तापबीच सम्झन्छु कुनै कुनामा थन्किएर बस्नुपर्ने दिनहरूमा चुहिइरहने आमाको रक्तस्राव पनि आखिर मेरै लागि त थियो होला नि ! यौवनका इच्छाहरू निर्ममतापूर्वक मारेर र आवश्यकताहरूलाई त्यागेर भ्रुणविकास सँगसँगै ममाथि वर्षिएको माया–ममता, स्नेहशील स्पर्श, मेरो साथ सहयोगका लागि भएको त्याग, तपस्या, साधना आदि ! ।

जसजसले उसको आफ्नो विषयगत वा अतिरिक्त योग्यता क्षमता अनुसार जे-जे भनुन् तर आमा तपाईको महिमा अपार छ । मानिसको अभिव्यक्ति कलाप्रति सम्मान जाहेर गर्नुसिवाय आमा तपाईलाई शब्दमा बयान असम्भव प्रायः छ । जीवनका कण–कणमा, प्रत्येक सुख–दुःखमा आमा तपाई सँगसँगै हुनुहुन्छ र त मैले गर्विलो आँट, साहस र हौसला पाइरहेको छु । मलाई र मेरो परिवेशलाई चाहिने इमान, निष्ठा, करुणा, सहिष्णुता आदि कमाइरहेको छु ।

जीवनको केन्द्रमा उपस्थित र अवस्थित आमाको दह्रिलो जोवान अहिले फितलो भयो । रहरको चाङमुनि उभिएको अधुरो र अपुरो मेरो बाल्यकालले आमालाई गलायो, निकै थकायो । परपरसम्म भौतारिएका सन्तानलाई नियाल्ने आँखा टोलाउँदा टोलाउँदै ओबायो । झरिलो अनुहार फतक्यै गल्यो । भरिला गाला केस्रा–केस्रा भएर चाउरियो । हेर्दाहेर्दै आमा अहिले फुल्नुभयो । उघ्रिएको बैंस मलाई जन्म दिएसँगै क्रमशः थन्कियो, अभावको ओडारबाट निस्सासिँदै निस्कन नपाउँदै आमाको यौवनता ढल्यो । मेरो लागि फुल्नुभयो । ठिंग उभिन टेको नसमाइ हुन्न, आमा जीवनको उत्तरार्धतिर ढल्नुभयो ।

अनुहारभरि मुजा परे । मुजा परेको हाँसो खिस्स हाँस्दा पनि सूर्यको पहिलोछँटा झैँ मन लोभ्याउछ, अचेत भए चेत विकासमा उज्यालो आउछ । रंगीन आभासँगै मुस्कान छाउछ । सन्तानप्रतिको करुणा बचाउन आमाले सहेको असाधारण दुःख र कष्ट अहिले रसाउछ । पटकपटक मरेर गर्नुभएको बलिदानले अहिले संसार हसाउछ । झरेको कपाल स्याहार्नुहुने आमाको यो उत्तरार्धले मलाई घरिघरि त निकै गिज्याउंछ ।

घरभरि गोठ थियो र परिवारमा सबैको ओठ थियो । गोठ र ओठलाई जोड्न आफूले जीवनकालमा खुबै संघर्ष गर्नुभयो । इमानको अग्लो पहाडतिर आँखा नचाउँदै हिँड्न सिकाउनुभयो । निष्ठाको सप्कोले पसिना पुछ्दै संघर्ष गर्न सिकाउनुभयो । आफूलाई भुल्दै र आफ्ना सौन्दर्य सपनालाई अलिपर राख्दै मलाई पाइला पाइलामा हिंड्न सिकाउनुभयो, अविश्रान्त हिडाइका लागि सिपाही बनेर सधैँभरि हौसला दिनुभयो । आफू जीवनकालभर औंठाछाप रहनुभयो तर मलाई ह्रस्व–दीर्घ शब्दज्ञानको आकार, प्रकार र प्रकृति चिन्न र सिक्न उत्प्रेरणा जगाउनुभयो । आमा र आमातुल्य संसारलाई नियाल्न, बखान्न र सपार्न अग्रसर तुल्याउनुभयो ।

आमाको मूल्य मुद्रामा साटेर आएका कृतघ्नले के सोचे कुन्नि ! तर मेरालागि योभन्दा ठूलो पक्ष के नै हुन्छ र आमा ! कृतज्ञ छु र कृतज्ञता व्यक्त गर्दछु, सधैँभरि अगाध सम्मानसहित हार्दिक नमन छ आमा ! ।