
– अन्जनी कुमार अधिकारी
उदयपुर, २ माघ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा रहेको वारिपारिको समस्या समाधान उन्मुख भएको छ । नगरमा रहेको वरिपरिको समस्या समाधान गर्ने वाचा सहित चुनाव जितेर आएको बर्तमान नगर प्रमुख कालुमान लामाको नेतृत्वको टिमले यसलाई समाधान उन्मुख गरेको हो ।
चौदण्डीगढी नगरपालिकामा रहेको वारिपारिको समस्या समाधान गर्न नगरको वडा नम्बर ९ स्थित हडिया ज्यामिरे जोड्ने त्रियुगा नदीमा झोलुङ्गे पुल निर्माणका लागि ५ करोड ९१ लाख ५० हजार रुपैंयाको आज अर्थमन्त्रालयले श्रोत सुनिश्चित गरेको छ । त्यसै गरि अर्थमन्त्रालय मार्फत वडा नम्बर १० स्थित शिवनगर इक्राहा जोड्ने त्रियुगा नदीमा झोलुङ्गे पुल निर्माणका लागि १२ करोड र वडा नम्बर २ को माडिवास खोलामा झोलुङ्गे पुल निर्माणका लागि ३ करोड ९२ लाख १० हजार रुपैया रकम सुनिश्चित भएको हो ।
चौदण्डीगढी नगरपालिकामा विकराल रुपमा रहेको वारिपारिको समस्यालाई समाधान गर्दै लैजाने सोच सहित तत्काल झोलुङ्गे पुलनै भए पनि निर्माण गर्न लागिएको चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले जानकारी दिए । उनले नगरका यी तीन ठाउँमा झोलुङ्गे पुल निर्माणका लागि अर्थमन्त्रालयमा श्रोत सुनिश्चित गर्न अहिले पनि आफुले नगर प्रवक्ता एवम् वडा नम्बर ९ का अध्यक्ष प्रकाश राउत र स्थानीय ९ नम्बर वडा बासी दिपराज बस्नेतलाई काठमाडौँमा मन्त्रालयमै धर्ना दिन राखेको बताए ।
मेयर लामाले आफुले जनता समक्ष वारिपारिको समस्या आफ्नो प्रयासले भ्याएसम्मको पक्की पुल, झोलुङ्गे पुल, ट्रस्ट पुल जे सकिन्छ तेही निर्माण गरेर गर्ने बचन दिएको भन्दै नगरले आफ्नो गक्ष्य अनुसार वडा भरि ट्रस्ट पुल निर्माण गरिसको तर ठुला ठुला पुल र झोलुङ्गे पुल आफ्नो गक्ष्यले नभ्याउने हुँदा संघीय सरकारको सहयोगमा निर्माण सुरु गरिएको जानकारी दिएका छन् ।
अहिले काँग्रेस एमालेको गठबन्धन सरकार रहनु, अर्थमन्त्री एमाले पार्टीका केन्द्रीय उपाध्यक्ष र चौदण्डीगढी नगरपालिकाका मेयर समेत एमाले उदयपुरको उपाध्यक्ष रहनुको संयोगले पनि यी तीनै वटा झोलुङ्गोमा एकैपटक रकम सुनिश्चित भएको एक श्रोतले बतायो । श्रोतका अनुसार पटक पटक नगरपालिकाको टिम अर्थमन्त्रीकोमै गएर जनताको समस्या सुनाउने गरेको भन्दै सबै कुराको संयोग मिल्दा पुल बन्ने सुनिश्चित भएको हो ।
उता नगरकै वडा नम्बर ५ शिवाई बेल्हा जोड्ने त्रियुगा नदीको पुल निर्माण सम्पन्न हुनै लाग्दा त्रियुगा नदीमा आएको बाढीले भत्काइदिए पछि बिगत लामो समय देखि भत्किएको पुलको पुनः निर्माण नहुँदा स्थानीयहरु निराश बनिरहेका छन् । तर चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले उक्त भत्किएको पुल अब नबन्ने जानकारी दिए ।
लामाले आफूले भौतिक पूर्वाधारमन्त्रीसंग कुरा गर्दा उक्त पुल नबन्ने र तत्काल उक्त भत्किएको पुलको सम्झौता रद्ध गरिने जानकारी दिएको बताए । मेयर लामाले आफुलाई मन्त्रीले उक्त पुलको विकल्पमा छुट्टै पुल निर्माण प्रकृया सुरु गरिने बताएको समेत जानकारी दिए । यद्यपि मेयर लामाले आफु आगामी बर्ष सो ठाउँमा समेत झोलुङ्गे पुल निर्माणका लागि लागिपर्ने भन्दै आफ्नो कार्यकालमा नगर भित्रको वारिपारिको समस्या समाधान गरेर छोड्ने प्रतिबद्धता ब्यक्त गरे ।









प्रतिक्रिया