
–प्यार अलि खान
प्युठान, १ माघ । लामो समयपछि प्युठान जिल्लाभित्रका आन्तरिक रुटमा चल्ने सार्वजनिक सवारी साधनहरुको नयाँ भाडादर तोकिएको छ ।
जिल्ला समन्वय समिति प्रमुख एवं जिल्ला भाडादर निर्धारण समितिका संयोजक धरमबहादुर जिसीले सरोकारवालाहरुको बैठकबाट जिल्लाका ग्रामीण सडकको नयाँ सवारी भाडादर निर्धारण गरिएको जानकारी दिएका छन् ।
नयाँ भाडादर आजैदेखि लागू हुने उनले बताए । उनले कच्ची, ग्रावेल र पक्की सडकको मापदण्ड बनाएर नयाँ भाडादर कायम गरिएको बताए ।
समायोजन गरिएको नयाँ भाडादर अनुसार साना सवारी साधनलाई पक्की सडकमा प्रतिकिलोमिटर ८ रुपैयाँ, ग्रावेल ११ रुपैयाँ र कच्ची सडकमा १४ रुपैयाँ भाडादर तोकिएको छ ।
यस्तै, ठूला सवारीसाधनले कच्ची सडकमा प्रतिकिलोमिटर १० रुपैयाँ, ग्रावेलमा ८ रुपैयाँ र पक्की सडकमा ६ रुपैयाँ भाडादर लिने पाउनेछन् ।
समायोजन गरिएको नयाँ भाडादर कार्यान्वयनमा लैजाने जिल्ला प्रशासन कार्यालय प्युठानले जनाएको छ । तोकिएको भाडादरभन्दा बढी उठाएमा कानुनी कारबाही हुने प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुवेदी)ले जानकारी गराइन् । ‘सवारी साधनमा भाडादर सूची देखिने गरी टाँस्न लगाउँछौँ ।’ उनले भनिन् ।
बाग्दुला–मच्छी सडकमा १२ किमी सडकमा १ सय ३० रुपैयाँ भाडा लिँदै आएकोमा अब ९६ रुपैयाँ भाडा कायम गरिएको छ । बाग्दुला–स्याउलीवाङ ३४ किमी सडकखण्डमा साना सवारीसाधनले ७ सय २० देखि ८ सय रुपैयाँ भाडा लिँदै आएकोमा अब नयाँ भाडादर अनुसार ४ सय २८ रुपैयाँ कायम गरिएको छ । पहिलेको तुलनामा स्थानीय रुटमा चल्ने सवारी साधनहरुको भाडादर घटेको स्वर्गद्वारी गौमुखी यातायात प्रालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए ।








प्रतिक्रिया