
काठमाडौं, २९ पुस । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिक साधारणसभा सोमबार पोखरामा सम्पन्न गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न सभामा आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित भएको छ ।
यसैगरी, सभाले प्रतिशेयर १०० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको मुक्तिनाथ ८ं.५ प्रतिशत अविमोच्य असञ्चित अग्राधिकार शेयर सम्बन्धित नियमानकारी निकायको स्वीकृति पश्चात जारी गर्ने प्रस्ताव समेत स्वीकृत गरेको छ । यसै सभाबाट आ.व. २०८१/०८२ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ । साथै, साधारण सभाको अवसरमा बैंक स्थापना गर्न पहल गरेका ३० जना संस्थापक शेयरधनीहरु, बैंकको उन्नयनमा अतुलनीय योगदान दिने अन्य संस्थापक शेयरधनीहरु तथा सञ्चालक सदस्यहरुलाई सम्मान गरिएको थियो ।

विशेष प्रस्तावको रुपमा रहेको काठमाडौं–२८, कमलादीमा अवस्थित केन्द्रीय कार्यालय बैंकको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय भवन लाजिम्पाटमा स्थानान्तरण गर्नेलगायतका सबै प्रस्तावहरु सर्वसम्मत रुपले पारित भएका छन् ।
साधारणसभाको औपचारिक कार्यक्रमको समुद्घाटन सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले गरेका थिए ।
सभामा बैंकका सञ्चालक समितिका सदस्य भरतप्रसाद लम्सालले स्वागत मन्तव्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।
साधारण सभामा सञ्चालक समितिकोतर्फबाट प्रस्तुत आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर शेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु प्राप्त भएको थियो । शेयरधनीहरुबाट आएका जिज्ञासाहरु बारेमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले थप प्रष्ट पारेका थिए ।








प्रतिक्रिया