७ असार २०८३, आइतबार

पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के हो ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । आज पुस २७ पृथ्वीजयन्ती । वास्तवमा पृथ्वीनारायण शाहको तस्वीर कस्तो थियो ? भन्नेमा धेरैलाई अन्योलता छ । तर सामान्यत उनको चित्रका सन्दर्भमा एउटै तस्वीर दिमागमा फनफनी घुम्छ– श्रीपेच पहिरिएको र ‘चोर औंला’ उठाएको ।

शाहका सालिक हुन् वा तस्वीरमा औंला ठड्याइरहेको चित्र कसरी बन्यो ? ठडिएको औंलाको अर्थ के हो ? चित्र केबल चित्रमात्र होइन इतिहास पनि हो । कपाल, आँखा, अनुहार, आभूषण, बसेको वा उभिएको तस्वीरले इतिहास झल्काउँछ ।

हुलाक टिकटका लागि पृथ्वीनारायणको चित्र कोर्ने केके कर्माचार्यले सिंहदरबार अगाडिको शालिक बनाउनुभन्दा पहिला हुलाक टिकटका लागि चित्र उतारेको दाबी गरेका छन् । शालिकमा देखिएको स्केच अमर चित्रकारले उतारेका थिए । तर त्यो भन्दा अगाडि कर्मचार्यले दरबारको आग्रहमा पृथ्वीनारायण शाहको तस्वीर उतारेका बताए ।

केके कर्माचार्य

कर्मचार्यले अमर चित्रकारले बनाएको सिंहदरबारको अगाडिको शालिक सबैभन्दा राम्रो मुर्ति भएको बताए । उनले भने, ‘सिंहदरबारको शालिक बनाउँदाखेरी अमर चित्रकारले निकै मेहेनत गरेका छन् । त्यसमा लोकल पहिरन छ । तर पछि चित्र उतार्दा श्रीपेज एवं जामा लगाएको, खानदानी लुगा पहिरिएको र औंला ठड्याउने चाहीँ मैले बनाएको हो ।’

यसैगरी, ‘पृथ्वीनारायण शाह जुझारु, निर्भिक र कसैसँग नडराउने व्यक्ति हुनुहुन्थ्यो । उहाँको इतिहास, स्वाभावलाई अध्ययन गरेर चित्र कोरिएको हो ।’ उनले भने । शाह नयाँ भिजन भएको र तागत पनि देखाउने मान्छे भएकाले आफूले सोही अनुसार परिकल्पना गरेर शाहको चित्र उतारेको उनले बताए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपतिसमेत रहेका कर्मचार्य भन्छन्, ‘पृथ्वीनारायणलाई लडाकु, अलि बहादुर देखिने खालको देखाउनुपर्‍यो भन्ने थियो । पहिलेको चित्रमा त यो कुरा देखिएन । बहादुर देखिनको लागि नयाँ चित्र बनाउन लगाइएको हो । सुरुमा उहाँको चित्र फुल समाएर सिंहासनमा बसेको सामान्य थियो । २०२४ सालतिर टिकट पृथ्वीनारायणको टिकट निकाल्ने सरकारले निर्णय भयो । राजा महेन्द्रको इच्छा थियो । म हुलाक टिकटको डिजाइन गर्थे त्यसबेला । त्यही भएको पुरानो चित्रमा फूल हटाएर मैले नै औंला राखेँ ।’

केके कर्माचार्य

यसैगरी, उनले पहिलेको बजारको चित्र त्यति राम्रो भएन पृथ्वीनारायणको एकीकरणकर्ताको छवि अनुसारको चित्र परिकल्पना गर्नुपर्‍यो भन्ने कुरा भएपछि आफूले मौलारामले कोरेको चित्रलाई समेत हेरेर र मगाएर औंला उठाएको चित्र कोरेको सुनाए ।

‘अमर चित्रकार दरबारको सबै चित्र कोर्नुहुन्थ्यो त्यसबखत । उहाँलाई बालकृष्ण समले दरबारभित्र पुर्‍याउनु भएको थियो । उहाँ दरबार पुग्नुअघि दरबारको मात्र छुट्टै आर्टिस्ट भन्ने कोही थिएन । उहाँ पुगेपछि नै शाह राजाहरुका पोट्रेट भटाभाट बन्न थालेको हो,’ उनले अगाडि भने, ‘अहिले चल्तीमा रहेको चित्र यूरोपियन शैलीमा छ । यसलाई आधुनिक पनि भनिन्छ । राजाको त चिउँडोको तलतिर पोटिलो मासु भएको देखाउनुपर्‍यो । फुर्तिलो देखाउनुपर्‍यो । अनि चित्रमा त्यस्तै देखाइएको हो ।’

‘चित्रमा हातहतियारसहित श्रृंगारिएको छ । आभूषण छ । बहादुरीपन छ । औंला राख्नुको अर्थ भनेको राजाले एकीकरण गरेको हो भन्ने कुरा देखाउनको लागि भएको हो, उनले भने । साथै, उनले आफूभन्दा पहिला कोरिएको चित्रले एकीकरणको म्यासेज नदिएको बताए । उनी भन्छन्, ‘उनको पहिचान कसरी गर्ने ? औंलाको चित्रले पृथ्वीनारायणलाई पहिचान दियो । यो चित्र हेर्ने मानिसका लागि चित्रको सन्देश हो–एकीकरण । पहिलेको फोटोले एकीकरणको म्यासेज दिँदैन थियो । फूलको ठाउँमा औंला थपेर एकीरणको सन्देश दिइयो । पृथ्वीनारायणको योगदान के त भन्दा एकीकरण । अनि मैले त्यो औंला थपिदिए ।’

गढवाली चित्रकारिताको जन्मदाता मानिने मौलारामले कोरेको पृथ्वीनारायण शाहको चित्रमा गढवाली शैली झल्किने गरेको पनि उनले बताए । त्यतिबेलाका चित्रकारितामा कांगडा शैली र गढवाली शैलीमा रहेकाले सोही अनुसार चित्र कोरिने गरेको कर्मचार्यले बताए ।