
रुपन्देही, २७ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उपभोक्ताको हित संरक्षण गर्न व्यवसायीले इमान्दारीता देखाउनुपर्ने र उपभोक्ता सचेत हुनुपर्ने बताएका छन् ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालले शनिबार बुटवलमा आयोजना गरेको व्यवसाय र उपभोक्ताको मानव अधिकारसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रमलाई उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उपभोक्ताको हित संरक्षण गर्न व्यवसायीले इमान्दारीता देखाउनैपर्ने बताएका हुन् । प्रदेश सरकारले अनुगमनलाई तीव्रता दिन प्रदेशस्तरीय संयन्त्र निर्माण गरिनेसमेत उनले बताए ।

‘चाडपर्वको बेलामा मात्रै होइन, १२ महिना, ३६५ दिननै अनुगमन र निगरानी हुने व्यवस्था गरिनुपर्छ’ मुख्यमन्त्री आचार्यले भने, ‘प्रदेश तहबाट पनि एउटा अनुगमन संयन्त्र बनाउछौँ ।’
बजारमा हुने अनुचित व्यापारलाई निरुत्साहित गर्न उपभोक्ता अधिकार संरक्षणलाई बलियो बनाउनुपर्ने उनले बताए । अखाद्य वस्तुको उपभोगका कारण नागरिकको स्वास्थ्यमा नराम्रो असर परिरहेको, नसर्ने तर दीर्घरोगबाट पीडित हुनुपर्ने अवस्था रहेको भन्दै मुख्यमन्त्री आचार्यले अखाद्य वस्तुको कारोबारलाई निरुत्साहित बनाउनुपर्ने बताए ।
‘उपभोक्ताको हितसंग जस्ले खेलवाड गर्छ । म्याद गुज्रेका, अखाद्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्छ त्यसलाई कानुनी दायरामा ल्याउन अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ’ उनले भने, ‘यसका लागि तीन तहकै सरकारको संयन्त्र परिचालन हुनुपर्छ । नागरिक तह, उपभोक्ताको क्षेत्रबाट पनि निगरानी र खबरदारी भइरहनुपर्छ ।’
उपभोक्ताको अधिकार सुनिश्चित गर्न सशक्त कानूनी संरचना निर्माण, सचेतना अभियानहरु तीव्र पारिनुपर्ने, गुणस्तरीय परिक्षण र नियमनको कामलाई प्रभावकारी रुपमा अघि बढाइनेसमेत मुख्यमन्त्री आचार्यले बताए । उपभोक्ताको हितसँग खेलवाड गरी अनुचित व्यापार गर्नेलाई कानूनी रुपमा दण्डित गर्ने र उत्कृष्ट सेवा तथा गुणस्तरीय उत्पादन दिने व्यवसायीलाई प्रोत्साहन गर्न जरुरी रहको पनि बताए ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सुधारका कामहरुलाई अघि बढाएको र त्यसमा नागरिक सहभागिता बढ्नुपर्ने बताए । सामाजिक सुधारका काममा सरकारले सफलता हाँसिल गरेको भन्दै मुख्यमन्त्री आचार्यले प्रदेश तहमा देखिएका कुपोषण जस्ता समस्यालाई न्यूनिकरण गर्न विशेष पोषण कार्यक्रम सञ्चालन गरिएको समेत बताए ।
यस्तै, मुख्यमन्त्री आचार्यले फरक प्रसंगमा सरकारले सेवा प्रवाहलाई सुधार गर्न नयाँ कदम चालेको र त्यसमा सबैको साथ सयोग आवश्यक पर्ने पनि बताए । ‘देश र जनताको पक्षमा कानुन सुधार गरेर सरकार अघि बढ्न खोज्दैछ’ उनले भने, ‘नागरिकको अपेक्षा अनुसार सरकारले आफ्नो गति बढाएको छ ।








प्रतिक्रिया