१३ असार २०८३, शनिबार

कस्तो छ पृथ्वीनारायण शाहको ससुराली घर ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २७ पुस । मकवानपुरगढीको अलग्गै इतिहास छ । यहाँको दरबारलाई राजा पृथ्वीनारायण शाहको ‘ससुराली घर’का रुपमा इतिहासकारहरुले व्याख्या गरेका छन् । हेमकर्ण सेनको समयमा गोरखाका राजा पृथ्वीनारायण शाहसँग मकवानपुरको सम्बन्ध गासिएको र हेमकर्णले आफ्नी छोरी पृथ्वीनारायण शाहलाई दिएको इतिहासमा उल्लेख छ ।

नेपाल एकीकरणका बेला मकवानपुरगढीमा युद्ध जित्न गाह्रो हुने भएपछि नै पृथ्वीनारायण शाहले चलाखीपूर्वक ज्वाइँको सम्बन्ध गाँसेका थिए । उनले विवाहमार्फत नै मकवानपुरको सुरक्षा व्यवस्थाका रहस्यहरु बुझेको बताइन्छ । ऐतिहासिक, पुरातात्वक र सामरिक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुरगढी यतिबेला पर्यटकहरुको रोजाइमा छ ।

मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित गढी किल्लाभित्र रहेका दरबार, मन्दिर र पर्खालहरू जीर्णोद्धार गरेर चिरिच्याट्ट पारेपछि यो ठाउँको महत्व झल्किएको छ । अग्लो डाँडामा रहेको गढीबाट अवलोकन गर्न सकिने प्राकृतिक दृश्यहरु पर्यटकलाई लोभ्याउने गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ सय वटा पर्यटकीय गन्तव्यमा समेटेको यो गढीमा ऐतिहासिक पक्षको अध्ययन र अनुसन्धान गर्न विशेषगरी विद्यार्थीहरु पुग्ने गरेका छन् ।

काठमाडौं, चितवन, मकवानपुर र तराईका विद्यार्थीहरु अध्ययन भ्रमण र पिकनिकमा रमाउन गढीमा उक्लने गरेका छन् । ऐतिहासिक महत्व, मनमोहक दृश्य र पुराना किंवदन्तीले यहाँ पुग्ने जो कोही लोभिने गरेका छन् ।

करिब १ सय ३५ रोपनी क्षेत्रमा फैलिएको यो गढी नेपालकै सबैभन्दा ठूलो मानिन्छ । करिब अढाइ सय वर्ष पुरानो अग्लो डाँडाको टुप्पामा वरिपरि चारैतिर अग्लो पर्खालले घेरिएको यो मकुन्दसेनको दरबार पृथ्वीनारायण शाहको ससुराली घर भनेर चिन्ने गरिन्छ ।

सदरमुकाम हेटौंडाबाट करिब १७ किलोमिटर उत्तर–पूर्वमा रहेको छ । काठमाडौंको कान्तिलोकपथबाट हुँदै काठमाडौं–ठिंगन–हेटौंडा ६८ किमि ३ घण्टामा जीपमा मकवानपुरगढी पुग्न सकिन्छ ।