१८ असार २०८३, बिहिबार

कीर्तिपुरको ‘युद्ध स्मारक पार्क’ निर्माण कार्य अलपत्र (तस्वीरहरु)

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कीर्तिपुर, २७ पुस । गोर्खाली र कीर्तिपुरे फौजबीच युद्ध भएको मानिएको कीर्तिपुरको ऐतिहासिक स्थानमा सुरु गरिएको ‘युद्ध स्मारक पार्क’ निर्माण कार्य बीचैमा अलपत्र परेको छ ।

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा करिब ५४ रोपनी क्षेत्रफलमा पार्क निर्माणको काम अघि बढाएपनि हाल सहयोग रोकिएपछि पार्क झाडीमा परिणत भएको छ ।

करिब दुई सय ६५ वर्षअघि भएका युद्धको झल्को दिनेगरी निर्माण सुरु गरिएको पार्कको काम हाललाई स्थगित गरिएको कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभ लक्ष्मी शाक्यले जानकारी दिइन् ।

‘हामी निर्वाचित भएर आउनुअघि पार्क निर्माणको काम सुरु भएको रहेछ । तर बिचमा बजेट रोकियो र काम पनि रोकियो । हाल उक्त क्षेत्रको सरसफाइका लागि मात्र नगरपालिकाले ठूलो बजेट खर्च गर्नुपरिरहेको छ । यसलाई नगरपालिकाले इको टुरिज्मको हबका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । सोही अनुसार काम अघि बढेको छ,’ उनले भनिन्, ‘यसलाई हामी अलपत्र हुन दिँदैनौँ । संरक्षण गरेर ‘युद्ध’ नभई ‘शान्ति’ स्मारक पार्कका रुपमा विकास गर्नुपर्ने सबैको सुझाव आएको छ । पार्क र इको टुरिज्म सँगै अघि बढाउँछौँ ।’

नेपाल एकीकरणको अभियानका क्रममा पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि पटक–पटक आक्रमण गरेको र यो पार्क निर्माण भइरहेको स्थान नजिकैको पर्खाल चढ्न नसकेर फर्किएको भन्ने इतिहास रहेको पनि उपप्रमुख शाक्यले बताइन् ।

पार्कमा मूर्त–अमूर्त स्मारकहरु राख्ने अर्थात नेवारी कला र संस्कृति झल्काउने मूर्ति एवं संग्राहलय पनि निर्माण गर्ने योजना थियो । तर काम बीचैमा रोकिएपछि कुँदिएका मूर्तिहरु अलपत्र मात्र परेका छैनन् पार्क क्षेत्र झाडीमा परिणत भएको छ ।

पृथ्वीनारायण शाह आफैँ आक्रमणको कमान्डर भई गोर्खा राज्यका तर्फबाट करिब १२ सय सैनिकले कीर्तिपुरमाथि आक्रमण गरेको इतिहास छ । तर, दुई पटकको प्रयासलाई कीर्तिपुरका फौजले असफल पारेको र सोही सफलतालाई कीर्तिपुरवासीले गर्विलो इतिहास मान्ने गरेका छन् ।

पृथ्वीनारायण शाहले कीर्तिपुरमा आक्रमण गर्दा भएको युद्ध क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले कीर्तिपुर नगरपालिकाले पार्कको अवधारणा अघि सारेको थियो ।

काठमाडौं महानगरले ‘नगर–नगर साझेदारी’ कार्यक्रमअन्तर्गत पार्क बनाउन बजेट सहयोग गरेको थियो । महानगरले आर्थिक वर्ष ०७५/०७६ र ०७७/०७८ गरी दुई करोड रुपैयाँ उपलब्ध गराएको बताइन्छ ।