
काठमाडौं, २६ पुस । नेकपा (एमाले) को आठौं केन्द्रीय कमिटी बैठकका निर्णयअनुसार तयार गरिएको बहस नोट प्रतिवेदन आज पार्टीका महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरिएको छ।
पार्टी पोलिट्ब्यूरो सदस्य सूर्य थापाले महासचिवलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । प्रतिवेदन हस्तान्तरण कार्यक्रममा समिति सदस्य रहेका केन्द्रीय सदस्यद्वय विष्णु रिजाल र निरज आचार्य पनि सहभागी थिए ।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि दुई अलग अलग समिति गठन गरिएको थियो । जसमा थापाको संयोजकत्वमा बहस नोट समिति गठन भएको थियो । समिति सदस्यमा केन्द्रीय सदस्य विष्णु रिजाल र निरज आचार्य सदस्य थिए ।
पार्टीका नीति, कार्यक्रम, र रणनीतिहरूलाई अझ सुदृढ बनाउने उद्देश्यले तयार पारिएको यो प्रतिवेदन बैठकमा भएका बहस, छलफल, र सुझावहरूको समग्र प्रतिविम्ब भएको थापाले जानकारी दिए ।
पार्टीका नेताहरूले यो प्रतिवेदनले पार्टीलाई आगामी दिनमा थप संगठित र रणनीतिक बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्। महासचिव पोखरेलले प्रतिवेदनलाई धन्यवाद दिँदै यसमा उठाइएका मुद्दाहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।








प्रतिक्रिया